इंग्ल्याण्डलाई पराजित गर्दै क्रोएसिया विश्वकपको फाइनलमा

विश्वकप फुटबलको २१ औं संस्करण अन्तर्गत भएको दोश्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई २-१ को गोलअन्तरले पराजित गर्दै क्रोएसियाले फाइनलमा स्थान सुरक्षित गरेको छ।

पहिलोपल्ट विश्वकपको फाइनलमा प्रवेश गरेको क्रोएसियालाई महत्वपुर्ण जित दिलाउने क्रममा खेलको अतिरिक्त समयमा मारीयो मान्ड्जुकिचको गोल निर्णाएक बन्न पुग्यो । मान्डजुकिचले १०९ मिनेटमा इभान पेरिसिचको पासमा ६ यार्ड बक्सभित्रबाट प्रहार गरेको बलले गोलपोष्टको जाली चुम्न पुग्दा क्रोएसिया पहिलो पटक उपाधि नजिक पुगेको हो ।

पहिलो हाफको शुरुवातमै इंग्ल्याण्डले खेलमा अग्रता बनाएपनि अग्रता जोगाउन नसक्दा ५२ वर्षपछि विश्वकपको उपाधि जित्ने इंग्ल्याण्डको सपना चकनाचुर भयो । पहिलो हाफको ५ औं मिनेटमा इंग्ल्याण्डका कायरन ट्रिपियरले २० यार्ड टाढाबाट फ्रि किक मार्फत प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।

खेलको ६८ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याएका थिए।

२०७५ असार २८, बिहीबार मा प्रकाशित

Leave a Comment