- खेलनेपाल– १२ असार, मंगलवार
आयरल्याण्डका स्टार अलराउण्डर केभिन ओब्रायन यस बर्षको एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स एघारबाट खेल्ने भएका छन्। ओब्रायन आयरल्याण्डका लागि टेस्ट क्रिकेटमा शतक बनाउने पहिलो ब्याट्सम्यान समेत हुन्।
काठमाडौं किंग्स एघारले मंगलवार जारि गरेको प्रेस बिज्ञप्ति अनुशार ओब्रायन यस बर्षको एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन्। काठमाडौं किंग्स एघारका प्रमुख कार्यकारी अधिकारी राजजंग थापाका अनुशार केभिन ओब्रायन समेत नेपाल आएर क्रिकेट खेल्न उत्सुक रहेका छन्। थापाले भने, “केभिन विश्वस्तरीय अलराउण्डर हुन् र उनले खेलेका क्लब र देशका लागि उनी सधैं प्रमुख खेलाडी रहेका छन्। र केभिन नेपाल आएर एभरेष्ट प्रिमियर लिग खेल्न धेरै उत्सुक रहेका छन्।”
गत बर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) बाट आयरल्याण्डले टेस्ट मान्यता पाएपछि गत महिना पाकिस्तान बिरुद्ध पहिलो टेस्ट खेल्दा उसका लागि केभिन ओब्रायनले शतक प्रहार गरेका थिए। दोस्रो इनिंगमा ११८ रनको इनिंग खेल्दै ओब्रायन आयरल्याण्डको लागि टेस्ट क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बनेका थिए। त्यसबाहेक सन् २०११ को एक दिवसिय विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डलाई पराजित गर्दा समेत ओब्रायनले एक दिवसीय विश्वकप इतिहासकै सर्वाधिक छिटो शतक (५०) प्रहार गर्दै ११३ रनको इनिंग खेलेका थिए। आयरल्याण्डका लागि ३०८ क्याप जितेका ओब्रायानले सन् २००६ मा डेब्यु गरेयता ३ एक दिवसीय विश्वकप र ५ टि-२० विश्वकपमा सहभागिता जनाएका छन्।

आयरल्याण्डका लागि कुल १२५ एक दिवसीय र ६३ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका ओब्रायनले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११८.८६ को स्ट्राइक रेटमा ७५६ रन जोडेका छन्। ओब्रायनले आयरल्याण्ड बाहेक सर्रे, सोमर्सेट, नोट्टीन्घमएस्पाएर, ट्रिनिडाड एण्ड टोबागो आदि क्लबबाट समेत बिभिन्न लिग खेलीसकेका छन्।