सेड्रिकको दोहोरो गोलमा संकटाको जित : सहिद स्मारक ए डिभिजन लिग

  • खेलनेपाल- मङ्सिर ३, सोमबार (काठमाडौं)

राजधानीमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिएमजी क्लब संकटाले लगातार दोस्रो जित हात पारेको छ।  सोमबार सम्पन्न जावलाखेल क्लब बिरुद्धको खेलमा संकटाले २-० को जित हात पार्यो।

प्रतियोगितामा लागातर दोस्रो जितपछि संकटा अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। समान २ खेल खेल्दा ६ अंक जोडेपनि संकटा तालिकामा थ्रीस्टार र मनाङभन्दा पछाडी रहेको छ।

सोमबारको पहिलो खेलमा संकटालाई जित दिलाउन बिदेशी खेलाडी सेड्रिक अबाले दुवै गोल गरे। अर्का बिदेशी खेलाडी एलोन म्याक्स्वेल खेलको १९ औं मिनेटमा दोहोरो पहेंलो कार्ड पाउँदै मैदान बाहिरीएपछि संकटा १० खेलाडीमा सिमित बनेको थियो। यद्यपि त्यसको फाइदा भने जावलाखेलले उठाउन सकेन।

Man of the Match Sedric Aba
Man of the Match Sedric Aba

गोलरहित बराबरीमा सकिएको पहिलो हाफमा दुबै टोलीले खासै मौका बनाउन सकेका थिएनन्। दोस्रो हाफको १३ औं मिनेटमा संकटाका सेड्रिकले सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। सुभाष गुरुङको उत्कृस्ट कटब्याकमा सेड्रिकले पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो।

पहिलो गोलपछि थप सुधारिएको प्रदर्शन गरेको संकटाका लागि सेड्रिकले खेलको ८५ औं मिनेटमा दोस्रो गोल गरेका थिए। लक्ष्मण रुचालको पासमा सेड्रिकले गोलपोस्टको नजिकै बाट ब्याकहिल गोल गर्दै टोलिलाई २-० को जित दिलाएका थिए।

Photos : ANFA

२०७५ मंसिर ३, सोमबार मा प्रकाशित