दोस्रो चरणको अन्तिम दिन हिमालयन शेर्पा, एपीएफ र संकटाको जित : ए डिभिजन लिग

  • खेलनेपाल – ३ मङ्सिर, सोमबार (काठमाडौं)

पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत सोमबार सम्पन्न खेलहरुमा हिमालयन शेर्पा, सशस्त्र प्रहरी बल (एपीएफ) र संकटाले जित दर्ता गरेका छन्। सरस्वती क्लब, फ्रेन्ड्स क्लब र जावलाखेल युथ क्लब भने सोमबार पराजित बने।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न रोमान्चक खेलमा एपीएफले फ्रेन्ड्स क्लबलाई १-० गोलअन्तरले पराजित गर्यो। इन्ज्युरी समयमा एपीएफका  लागि प्रविन संत्यालले गरेको गोल खेलमा निर्णायक बन्न पुग्यो।

यसअघि दुबै टोलीले गोल गर्ने केहि राम्रा अवसर प्राप्त गरेपनि चुकाएका थिए। एपीएफका खेलाडीहरुको प्रहार फ्रेन्ड्स क्लबका बिदेशी गोलरक्षक मोहम्मद नुरल करिमले जोगाएका थिए। यस्तै फ्रेन्ड्स क्लबले समेत गोल गर्ने केहि सुन्दर अवसर खेल फालेको थियो।

सोमबारनै सम्पन्न लिगको अर्को खेलमा हिमालयन शेर्पाले सरस्वती युवा क्लबलाई १-० गोल अन्तरले पराजित गर्यो। हालचोक स्थित एपीएफ मैदानमा भएको खेलमा हिमालयन शेर्पाका लागि बिश्वाश श्रेष्ठ नायक साबित भए।

खेलको ३० औं  मिनेटमा विंगबाट प्राप्त क्रसको सदुपयोग गर्दै बिश्वाशले पेनाल्टी एरियाबाट गोल गरेका थिए। बिश्वाशको सो गोलनै खेलमा निर्णायक बन्यो। लिगमा हिमालयन शेर्पाको यो पहिलो जित समेत हो।

सोमबार सम्पन्न अर्को खेलमा भने संकटाले जावलाखेल बिरुद्ध २-० को जित हात परेको थियो।

लिगमा दोस्रो चरणका खेल समापनहुँदा थ्री स्टार क्लब २ खेलबाट ६ अंक सहित तालिकाको शिर्ष स्थानमा रहेको छ। यस्तै मनाङ मर्स्याङ्दी क्लब र सिएमजी संकटा समेत समान ६ अंक भएपनि गोलअन्तरका आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

विभागीय टोलि आर्मी, एपीएफ र पुलिससंगै अर्को टोलि हिमालयन शेर्पाको समान ४-४ अंक रहेपनि गोलअन्तरका आधारमा क्रमश चौथो, पाँचौं, छैठौं र सातौँ स्थानमा रहेका छन्।

यस्तै २ अंक रहेको मछिन्द्र आठौँ स्थानमा रहंदा समान १-१ अंक भएका च्यासल र एनआरटि क्रमश नवौं र दशौँ स्थानमा रहेका छन्। दोस्रो चरण समाप्तहुँदा सम्म अंक बिहिन रहेका फ्रेन्ड्स, सरस्वती, जावलाखेल र ब्रिगेड ब्वाइजभने क्रमश एघारौँ, बाह्रौं, तेह्रौं र चौधौं स्थानमा छन्।

२०७५ मंसिर ३, सोमबार मा प्रकाशित