महिला साफ च्याम्पियनसिपको खेल तालिका सर्यो, अब नेपालमा हुने

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने महिला च्याम्पियनसिपको खेल तालिका सरेको छ। खेलतालिका सरेपछि प्रतियोगिता आयोजना स्थल पनि सरेको हो।

प्रतियोगिताको पाचौँ संस्करण सन् २०१९ को मार्च ११ देखि मार्च २१ सम्म नेपालमा हुने भएको हो। यसअघि डिसेम्बर २०१८ मा श्रीलंकामा आयोजना हुने भनिएको प्रतियोगिता श्रीलंकाले उक्त समयमा आयोजना गर्न नसक्ने बताएपछि नेपालले मौका पाएको हो।

सन् २०१० देखि सुरु भएको प्रतियोगिताको पाचौँ संस्करणसम्म आईपुग्दा पहिलोपल्ट नेपालले आयोजना गर्ने अवसर पाएको हो। प्रत्येक २/२ वर्षको अन्तरालमा आयोजना हुने प्रतियोगिता यसअघि क्रमश: बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतमा आयोजना गरिएको थियो। उपाधीको सन्दर्भमा भने सम्पूर्ण संस्करण भारतले नै कब्जा गरेको छ। सुरुवाती ३ संस्करणको फाइनलमा नेपाललाई पराजित गरेको उसले अन्तिम संस्करणमा भने बंगलादेशलाई पराजित गरेको थियो।

प्रतियोगितामा दक्षिण एसियाका बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र नेपालको सहभागिता रहेको छ।

२०७५ मंसिर ४, मंगलवार मा प्रकाशित