थ्रीस्टारलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी लिगको शीर्षस्थानमा, भोलि पुलिस र अार्मी भिड्ने

चीरपरिचित प्रतिद्धन्दी थ्रीस्टार क्लबलाई हराउँदै मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको दोस्रो खेलमा थ्री स्टारलाई २-१ गोल अन्तरले हराउँदै मनाङले ३ खेलबाट ९ अंक जोड्दै तालिकाको पहिलो स्थानमा आएको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा मनाङले २ गोलको अग्रता लिएको थियो । खेलको ११ औं मिनेटमा हेमन गुरुङको पासलाई सदुपयोग गर्दै अन्जन विष्टले मनाङलाई अग्रता दिलाए । आफ्ना मुख्य खेलाडीबिनानै मैदानमा उत्रिएको मनाङले १८ औं मिनेटमा अग्रता दोब्बर बनायो ।

थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले क्लियर गरेको बल विजय धिमाललाई लाग्दै गोलमा परिणत भएको थियो । पहिलो हाफमा दुवै टोलीले राम्रा अवसर बनाएपनि त्यसपछि कुनै गोल हुन सकेन । २ गोलले पछि परेको थ्रीस्टारले दोस्रो हाफमा सुधारीएको खेल पस्कियो ।

मनाङका पुर्व खेलाडी अनिल गुरुङको स्थानमा रन्जन विष्ट मैदान प्रवेश गरेपछि थ्री स्टारले दोस्रो हाफमा दबाब बनाउन सफल भयो । लगातार आक्रमण गरेको थ्रीस्टारले खेलको ८५ औं मिनेटमा पेनाल्टी मार्फत १ गोल फर्कायो । पेनाल्टी क्षेत्रभित्र मोहमद आसिफले अजयी मार्टिन्सलाई लडाएपछि पाएको पेनाल्टीलाई रञ्जित धिमालले गोल गर्दै थ्रीस्टारलाई खेलमा फर्कायो ।

खेलको अन्तिमसम्म आक्रामक खेलेको थ्रीस्टारले त्यसपछि कुनै गोल गर्न सकेन र मनाङले ३ अंक खोस्न सफल भयो । लिगमा पहिलो हार व्योहोरेको थ्री स्टार ३ खेलबाट ६ अंक सहित तालिकाको दोस्रो स्थानमा झरेको छ ।

त्यस्तै आजै भएको पहिलो खेलमा च्यासल युथ क्लबले न्युरोड टिम एनआरटीलाई ५-१ गोलको फराकिलो अन्तरले हराएको छ । लिगका ३ खेल मध्ये १ जित, १ हार र १ बराबरी खेलेका च्यासल ४ अंक सहित तालिकाको चौंथो स्थानमा छ ।

लिग अन्तर्गत भोलि एन्फा कम्प्लेक्समा अर्को दाबेदार टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा एपीएफ र ब्रिगेड ब्याइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, एपिएफको हलचोक मैदानमा मच्छिन्द्र र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

२०७५ मंसिर ६, बिहीबार मा प्रकाशित

Leave a Comment