ए डिभिजन लिगमा आर्मी र संकटाको अपराजित यात्रा कायमै

त्रिभुवन आर्मी र संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा अपराजित यात्रा कायम राखेका छन ।

आज भएको खेलमा आर्मीले पुलिसलाई १-० र संकटाले मच्छिन्द्रलाई २- ० ले पराजित गर्‍यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा टेकबहादुर बुढाथोकीको निर्णायक गोलमा आर्मीले लिगमा दोस्रो जित हात पारेको हो ।

सुरु देखिनै पुलिसमाथि हावी भएकाे आर्मीका लागि ३१ औं मिनेटमा मिडफिल्डर टेकबहादुर बुढाथोकीले अग्रता दिलाए र त्यही गाेल नै तीन अंकका लागि पर्याप्त भयो । यो जितसँगै आर्मी ३ खेलबाट ७ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लेको छ । लिगमा पहिलो हार बेहोरेको पुलिसको ३ खेलमा १ जित, १ हार र १ बराबरीसहित ४ अंक छ ।

त्यस्तै आजै हलचाेकमा भएको अर्को खेलमा मच्छिन्द्र क्लबलाई २-० ले हराउँदै संकटा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । संकटाको जितमा नितिन थापा र अमित तामाङले १-१ गोल गरे ।

यता सातदोबाटोमा आजै भएको खेलमा ब्रिगेड ब्वाईज क्लबले पहिलो जित हात पारेको छ । विभागीय टोली एपीएफलाई ३-१ गोल अन्तरले हराउँदै ब्रिगेड ब्वाईजले पहिलो हात पारेकाे हो । १ गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै ब्रिगेड ब्वाईजले खेल जित्याे ।

६० औं मिनेटमा रुपबहादुर लामाले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । तर, त्यसको तीन मिनेट पछिनै मनोज राईले फ्रिकीकमार्फत गोल गर्दै ब्रिगेड ब्वाइजलाई खेलमा फर्काए । खेलमा फर्किसँगै एपिएफमाथि दबाब बनाएको ब्रिगेड ब्वाइजका लागि ६९ औं मिनेटमा काजुदीन आदुउनीले गोल गर्दै अग्रता दिलाए ।

त्यस्तै, काजिम आदिबोकेले ७६ औं मिनेटमा तेस्रो गोल गर्दै लिगमा पहिलाे जित सुनिश्चित गरे । विस्वास उदासले ८९ औं मिनेटमा रातो कार्ड खाँदै मैदान छोडेपछि खेलमा कुनै गोल भएन र ब्रिगेड ब्वाईजले ३ अंक जोड्याे ।

२०७५ मंसिर ७, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment