लिगमा तेस्रो चरण सकिँदा मनाङ शीर्ष, हेर्नुहोस् अङ्कतालिका

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबले पहिलो जित निकालेको छ। हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा शनिबार सम्पन्न पहिलो खेलमा सरस्वतीले फ्रेन्ड्स क्लबलाई ३–० ले पराजित गरेको हो।

सरस्वतीको जितमा विदेशीहरू भिक्टोर, इब्राहिम र साचिइले गोल गरे। १३ औ मिनेटमा भिक्टोरको गोलमा सरस्वती युथ क्लबले खेलमा अग्रता लिएको थियो। पहिलो हाफमा १–० को अग्रता लिएको सरस्वतीले दोस्रो हाफमा थप २ गोल थप्यो।

७३ औ मिनेटमा इब्राहिमले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यस्तै ८३ औं मिनेटमा साचिइले अर्को गोल थपेपछि सरस्वतीको जित सुनिश्चित भएको हो। जितपछि सरस्वतीले ३ खेलबाट ३ अंक जोडेको छ।

सरस्वती पहिलो खेलमा संकटा र दोस्रो खेलमा हिमालयन शेर्पा क्लबसँग पराजित भएको थियो। यता फ्रेन्ड्सको भने लिगमा यो लगातार तेस्रो हार हो। फ्रेन्ड्स पहिलो खेलमा थ्री स्टार र दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो।

यस्तै आजै भएको तेस्रो राउण्डको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जावलाखेल युथ क्लबलाई २-१ को अन्तरले पराजित गर्यो। हिमालयन शेर्पाका लागि दुवै गोल कर्ण लिम्बुले गरेभने जावलाखेलका लागि हिमालयन शेर्पाका आशिष गुरुङले आत्मघाती गोल गरे।

खेलको पहिलो हाफमा दुवै टिमले केहि राम्रा मौकाहरु बनाएपनि गोलमा परिणत गर्न सकेनन्। दोश्रो हाफको २१ औं मिनेटमा बिपक्षी खेलाडीहरु बीच तालमेल नमिल्दा जावलाखेलका बिश्वासले बाहिर हिर्काएको बल गोलपोस्टको बारमा लागेर फर्केपछि कर्ण लिम्बुले गोलमा परिणत गरेका थिए।

खेलको ७५ औं मिनेटमा व्यक्तिगत दोश्रो गोल गर्दै उत्कृस्ट खेलाडी घोषित कर्ण लिम्बुले अग्रता २-० बनाएका थिए। त्यसपछि खेल सकिन ४ मिनेट बाकी रहदा हिमालयन शेर्पाका आशिस गुरुङ र  गोल किपरबीच असमझदारी हुँदा पास गरेको बलले आत्मघाती गोल हुन पुगेको थियो। त्यसपछि स्कोर २-१ रहँदै खेल सकियो।

 

 

२०७५ मंसिर ८, शनिबार मा प्रकाशित