ए डिभिजन लिग: चौथो चरण सकिंदासम्म मनाङ अगाडि, भोलिदेखि पाँचौं चरणको खेल सुरु

राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा चौथो चरणको खेल सकिंदासम्म मनाङ मर्स्याङ्दी क्लब शतप्रतिशत जितका साथ तालिकाको शीर्षस्थानमा छ ।

लिगमा सहभागी १४ वटै टोलीले समान ४/४ खेल खेलिसक्दा उपाधि दाबेदार मनाङ मर्स्याङ्दी तालिकाको शीर्षस्थानमा रहँदा अर्को बलियो प्रतिद्वन्द्वी थ्रीस्टार क्लब भने पहिलो स्थानमा आउने होडमा संघर्ष गरिरहेको छ ।

गत असोज १३ गतेदेखि राजधानीमा सुरु भएको सहिद स्मारक ए डिभिजन लिगको चौंथो चरणको समाप्तिसम्ममा खासै अनपेक्षित नतिजा आएको छैन । यस्तोमा ४ वटै खेलमा जित हात परेको एक्लो टोली मनाङ मर्स्याङ्दी क्लब कुल १२ अंकका साथ तालिकाको शीर्षस्थानमा छ ।

लिगअन्तर्गत आफ्नो पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३/१ गोलले हराएको मनाङले दोस्रो खेलमा न्युरोड टिम एनआरटीलाई २/० गोलले हराएको थियो । तेस्रो चरणको दोस्रो खेल जारी लिगकै सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको खेल थियो । जहाँ घरेलु लिगका दुई चीरपरिचत प्रतिद्धन्दी मनाङ र थ्रीस्टारबीच प्रतिस्पर्धा भयो । जुन खेलमा थ्रीस्टारलाई २/१ ले हराउँदै मनाङ तालिकाको शीर्ष स्थानमा मात्र उक्लिएन, उपाधिमा बलियो दाबेदारी पनि प्रस्तुत गर्‍यो ।

थ्रीस्टारलाई हराएर उच्च मनोबल बनाएको मनाङले तेस्रो खेलमा विभागीय टोली एपिएफलाई २/१ ले हराउँदै उपाधि यात्रामा अगाडि रहन सफल भयो । पाँचौं चरण पुग्दासम्म मनाङलाई अन्य दाबेदारहरू त्रिभुवन आर्मी, हिमालयन शेर्पा, थ्रीस्टार र संकटा क्लबले पछ्याइरहेको छ । ४ खेलबाट ३ जित र १ बराबरी खेलेको आर्मी १० अंकका साथ तालिकाको दोस्रो स्थानमा रहँदा समान अंक जोडेको हिमालयन शेर्पा गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ ।

त्यस्तै, ३ जित र १ हार व्यहोरेको थ्रीस्टार ९ अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने समान नतिजा निकालेको संकटा गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ । अहिलेसम्म लिगमा चार टोलीले कुनै जित निकाल्न सकेको छैन । यस्तोमा मच्छिन्द्रले २ बराबरी खेलेको छ भने १ मात्र बराबरी खेलेका जावलाखेल युथ, फ्रेण्ड्स र एनआरटीले मात्र १ अंक जोड्दै तालिकाको पुछारमा छन् ।

एनआरटीले लिगको पहिलो खेलमा विभागीय टोली आर्मीसँग १/१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको थियो भने, जावलाखेल युथ र फ्रेण्ड्सले चौंथो चरणको अन्तिम खेलमा ३/३ गोलको बराबरी खेल्दै पहिलो अंक जोडेको हो ।

लिगमा अहिलेसम्म ५० खेलाडीले ७२ गोल गर्दा ६ जना खेलाडीले सर्वाधिक ३ गोल गरेका छन् । जसमा, थ्रीस्टारका रञ्जित धिमाल, आर्मीका टेन बहादुर बुढाथोकी र सन्तोष तामाङ्, मनाङका अफिज ओलावले र अन्जन विष्ट तथा हिमालयन शेर्पाका कर्ण लिम्बु रहेका छन् ।

जारी सिजनमा कुनै पनि टोलीको जितमा विदेशी खेलाडीले पनि उतिकै महत्वपूर्ण भूमिका निभाएका छन् । लिगमा यतिखेर ३ विभागीय टोली बाहेक ११ क्लबमा ३० जना विदेशी खेलाडी खेलिरहेका छन् । लिगमा २८ खेल सकिँदासम्म थ्रीस्टारले सर्वाधिक १० तथा मनाङ र आर्मीले समान ९/९ गोल गरेका छन् ।

लिगमा थ्रीस्टार, च्यासल र आर्मीले फराकिलो अन्तरको जित निकालेका छन् । जहाँ, थ्रीस्टारले ब्रिगेड ब्वाईजलाई, च्यासलले एनआटीलाई र आर्मीले संकटा क्लबलाई समान ५/१ गोल अन्तरले हराएको थियो । लिग अन्तर्गत अब शुक्रबारदेखि पाँचौं चरणका खेलहरू हुनेछन् । शुक्रबार हुने पहिलो खेलमा एनआरटी र नेपाल पुलिस तथा दोस्रो खेलमा थ्रीस्टार र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

२०७५ मंसिर १४, शुक्रबार मा प्रकाशित