ए डिभिजन लिग उपाधि मनाङलाई

काठमाडौं – पल्सर सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उपाधि सिग्नेचर मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । बिहिबार भएको खेलमा सीएमजी संकटा क्लबलाई ३ – १ गोल अन्तरले पराजित गर्दै मनाङ उपाधि उचालेको हो ।

मनाङले कीर्तिमानी आठौं पटक ’ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको हो । एन्फा कम्प्लेस सातदोबाटोमा उपाधि जित्न एक जित आवश्यकता रहेको खेलमा मनाङले संकटालाई पराजित गर्याे ।

मनाङलाई जित दिलाउन पुजन उपरकोटी र एडीलाजा सोमिडेले एक एक गोल गरे । एक गोल भने आत्मघाती भएको थियो । उता संकटाका सेड्रिक अबाले एक सान्तोना गोल फर्काए ।

मनाङले खेलको १७ औ मिनेटमा आत्मघाति गोलबाट अग्रता लिएको थियो । विशाल राईको कर्नर बललाई संकटाका गोलकिपर राजा बाबु थापाले पन्च गरेर बाहिर फाल्ने क्रम रोशन पहाडीले आत्मघाति गोल गर्न पुगे ।

दोस्रो गोल ८१ औ मिनेटमा सम्भव भयो । पुजन उपरकोटीले हेडमार्फत गोल गर्दैै मनाङलाई जितको नजिक पु¥याएका थिए । ८० औ मिनेटमा सुजल श्रेष्ठको स्थानमा मैदान छिरेका उनले पहिलो टचमै गोल गर्न सफल भए ।

८६ औ मिनेटमा बिशाल राईले उपलब्ध गराएको पासमा एडिलआजाले फ्रि हेडमार्फत गोल गर्दै मनाङलाई ३–० को स्थितीमा पु¥याए ।

आजको जितसंगै मनाङले ११ खेलबाट ३३ अंक जोडेको छ । अपराजित मनाङले अब दुई खेल खेल्न बाँकी छ । दोस्रो स्थानको संकटाको २५ अंक छ ।

२०७५ पुष १२, बिहीबार मा प्रकाशित