काठमाडौँ-दसौं विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई शुभतारा स्कुलले शनिबार नगदसहित सम्मान गरेको छ ।
शुभताराको २० औं वार्षिक खेलकुद दिवसको समापनको अवसर पारेर महेश्वरलाई नगद ५० हजारसहित सम्मान पत्र प्रदान गरिएको हो । उनलाई शुभताराकी निर्देशक रानी गुरुङ कक्षपतिले सम्मान पत्र हस्तान्तरण गरेकि हुन् ।
थाइल्यान्डको चाङमइमा डिसेम्बर ११–१७ तारिखसम्म भएको उक्त प्रतियोगितामा महेश्वरले स्वर्ण जित्दै इतिहास रचेका थिए । नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलो पटक महेश्वरे स्वर्ण जित्न सफल भएका थिए ।
महेश्वर एसियाली शारीरिक सुगठनमा पनि स्वर्ण जित्ने एक्लो नेपाली खेलाडी हुन् ।