एउटै खेलमा १० गोल हुदा बिजेताको टुङ्गो लागेन

काठमाडौं – ए डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र मछिन्द्र क्लब बिचाको खेलमा १० गोल हुदा पनि बिजेता टुङ्गो लागेन । सोमबार भएको खेलमा एनआरटी र मछिन्द्रले ५–५ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा दुबै तर्फबाट गोलको वर्षा भए पनि खेलमा एनआरटी र मछिन्द्रले बराबरी खेले । जारी लिगमा पहिलो पटक एकै खेलमा १० गोल भएको हो ।
खेलमा मछिन्द्रका लागि विशाल राईले दुई गोल, खमिर गिल्सन कन्दङ्वा, अनिल गुरुङ र भासडिया डाइमण्डेले एक एक गोल गरे । एनआरटीका अशोक थापाले दुई गोल, सुनील लामा र डिडियर स्माइलले एक एक गोल गरे । एनआरटीले एक गोल आत्मघाती गोल पाएको थियो ।
खेलको पहिलो हाफमै ८ गोल भएको खेलमा सुरुवाती अग्रता भने मछिन्द्रले बनाएको थियो । पहिलो हाफको चौथो मिनेटमा विदेशी खेलाडी डाइमण्डेले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको दशौ मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई २–१ को अग्रता दिलाए । खेलको २८ औं मिनेटमा अनिलकै पासमा खमिरले गोल गर्दै मछिन्द्रको अग्रता ३–१ को बनाए । ३० औं मिनेटमा खमिरको पासमा अनिल गुरुङले गोल गर्दै मछिन्द्रलाई ४–१ को अग्रता दिलाए ।
३० मिनेटभित्र ४–१ ले पछि परेपनि एनआरटी खेलमा फर्कियो । खेलको ३३ औं मिनेटमा एनआरटीका अशोक थापाले गोल गर्दै खेल ४–२ को गोलको अवस्थामा ल्याए । लगत्तै ३४ औं मिनेटमा अशोकले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ४–३ को अवस्थामा पुग्यो ।
पहिलो हाफकै इन्जुरी समयमा एनआरटीका सुनिल लामाले पेनाल्टीमा गोल गर्दै पहिलो हाफ ४–४ गोलको बराबरीमा सकियो ।

पुन दोस्रो हाफको शुरुवातिमै मछिन्द्रले अग्रता लियो । खेलको ६४ औं मिनेटमा विशालले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ५–४ को अग्रता दिलाए । उक्त अग्रतालाई खेलको ८६ औं मिनेटमा एनआरटीका डिडियर स्माइलले गोल गर्दै खेल ५–५ को बराबरिमा सकियो ।
आजको खेलमा बराबरीसंगै ६ अंक जोडेको एनआरटी लिग तालिकाको पुछारमा छ । मछिन्द्र ७ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।

२०७५ पुष १६, सोमबार मा प्रकाशित

Leave a Comment