युएईसंगको एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली टिमको घोषणा

नेपालले युएईसंग जनवरी २५ देखि फेब्रुवरी ३ तारिकसम्म खेल्ने एकदिवसीय र टि-२० सिरिजको लागि २० सदस्यीय नेपाली प्रारम्भिक टिमको घोषणा भएको छ ।

एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले दोश्रो पटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। युएईमा खेलिने सिरिज अन्तर्गत नेपालले ३ वटा एकदिवसीय र ३ वटा टि-२० खेल खेल्नेछ।

सबै खेलले आईसीसीको अन्तर्राष्ट्रिय मान्यता पाउनेछ। यसरी बर्ष मार्चमा एकदिवसीय मान्यता पाएपछि नेपालले अगस्टमा नेदरल्याण्डसंग २ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो।

 

युएई सिरिजको तालिका

युएई सिरिज अन्तर्गत नेपालले जनवरी २५ तारिकमा पहिलो, जनवरी २६ मा दोश्रो तथा जनवरी २८ तारिकमा तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्नेछ।

एकदिवसीय खेलहरु पछि जनवरी ३१ तारिकमा पहिलो टि-२० अन्तर्राष्ट्रिय तथा फेब्रुवरी १ मा दोश्रो र फेब्रुवरी ३ मा तेश्रो टि-२० अन्तर्राष्ट्रिय खेल्ने तालिका रहेको छ। सबै खेलहरु दुबईमा खेलिनेछ।

 

यस्तो छ २० सदस्यीय नेपाली टिम

भर्खरै सम्पन्न एभरेस्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका फास्ट बलर अविनाश बोहरा पहिलो पटक नेपाली टिमको बन्दसत्रमा अटाएका छन् भने भिम शार्की, सन्दिप जोरा, पवन सर्राफ जस्ता खेलाडीहरुले पनि बन्द सत्रमा स्थान बनाएका छन्। घाइते भएका कारण सागर पुन बन्दसत्रमा छैनन् भने ईपिएलमा घाइते भएका कारण खेलहरु गुमाएका सोमपाल कामि पनि बन्दसत्र टिममा छन् ।

यस्तै बिग ब्यास लिग खेलीरहेका सन्दिप लामिछाने पनि युएई सिरिज खेल्न बन्दसत्रमा रहेका छन्। उनि जनवरीमा बंग्लादेश प्रिमियर लिग खेलीरहेका हुनेछन्। बंगलादेश प्रिमियर लिग बीचमा छोडेर उनि युएई पुग्नेछन्।

टिमको छनौट आईसीसीको रोहबरमा आईसीसी प्रतिनिधि अमिनिल इश्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले गरेको हो।

२० सदस्यीय टिम : पारस खड्का (कप्तान) , अविनाश बोहारा , बसन्त रेग्मी, भिम शार्की, बिक्रम सोब , बिनोद भण्डारी, दिपेन्द्र ऐरि, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी , ललित राजबंशी , आरिफ शेख, पवन सर्राफ, प्रदिप ऐरि , रोहित पौडेल, सन्दिप लामिछाने, शरद भेसावकर , सोमपाल कामि , सन्दिप जोरा , सुशन भारी

२०७५ पुष १६, सोमबार मा प्रकाशित

Leave a Comment