आयोजक सुदुरपश्चिम पहिलो खेलमै बाहिरियो, झापासँग सडन डेथमा स्तब्ध

गोलरक्षक दिप कार्कीले उत्कृष्ट खेल प्रदर्शन गरेपछि मेची नेत्रालय काक्करभिट्टा ट्रेनिङ सेन्टरले तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्डकप २०७५ को क्वाटरफाईनलमा प्रवेश गरेको छ।

धनगढी रंगशालामा आजदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम-११ क्लबलाई पराजित गर्दै मेची नेत्रालय अघिल्लो चरणमा पुगेको हो। निर्धारित समय गोल रहित बराबरीमा सकिएपछि सडन डेथमा काक्करभित्ताले ७–६ को जित दर्ता गरेको हो।

धनगढी रंगशालामा मंगलबार खेलको अधिकांश समय आक्रामक रणनीतिमा खेलेको घरेलु टोलीले गोल गर्न भने सकेन । खेलको दशौं मिनेटमा नै विनोद केसीको प्रहारमा राम्रो नियन्त्रण नहुँदा फुस्केको बलमा अब्दुल रहमानले गरेको प्रहार गोलरक्षक दीप कार्कीले सहजै बचाए।

२३ औं मिनेटमा विनोद केसीले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको भली प्रहारलाई गोलरक्षक दीपले उत्कृष्ट डाइभ दिएर विफल पारे। पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गियो।

दोस्रो हाफको पाँचौ मिनेटमा चेतन थारुले गरेको हाफ भलीलाई गोलरक्षक दीपले बचाए। नवौं मिनेटमा भुषण लिम्बूको फ्रिकिकमा विकास राईको हेडरले पोस्टको दिशा लिन सकेन। खेलको अन्तिम समयमा विनोद केसीको प्रहार डिफेन्सलाई लागेर फर्कंदा रिबाउन्डमा आएको बलमा माधव भण्डारीले गोल गर्न सकेनन्।

सडन डेथमा लावल ओलाकानको प्रहार अकासिएपछि काक्करभीट्टाको जित पक्का भएको थियो। त्यसअघि सडन डेथमा नै माधव भण्डारीको प्रहारलाई दिप कार्कीले उत्कृष्ट बचाउ गर्दै सुदूरलाई जित दर्ता गर्नबाट बाधक बने। दिपले त्यसअघि सुदूरका राकेश हमालको प्रहार पनि बचाएका थिए।

सुदूरका लागि अब्दुल रहमान, नरेन्द्र चौधरी, विजय ठकुरी, विनोद केसी, फिलिप तामाङ र चेतन कुमार थारुले गोल गरे। काक्करभीत्ताका भुषण लिम्बू, अजित गुरुङ, विश्वास श्रेष्ठ, दिप कार्की, निशान लिम्बू, विकास राई र विशाल राईले गोल गरे। कप्तान खामीर गिल्सान र लक्ष्मण जिसीको प्रहार भने गोल हुन सकेन।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका काक्करभित्ताका गोलरक्षक दिप कार्की म्यान अफ द म्याच भए। उनले १० हजार रुपैयाँ हात पारे। विजयी टोलीका प्रशिक्षक कर्ण थापा मगरले प्रशिक्षणको समय नपाउँदा खेलाडीमा समन्वय नभएको बताए – ’हामीले अधिकांश समय दबाबमा रहेपनि जित दर्ता गर्यौं । प्रशिक्षणको समय नपाउँदा टोलीमा समन्वयको कमि देखियो। अब तीन दिन समय पाएका छौं, प्रशिक्षणमा मिहनेत गरेर अर्को खेलको लागि तयार हुनेछौं ,’ उनले भने।

त्यसअघि प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो। विजेता टोली काक्करभित्ताले अब पुष २८ गते एपिएफको सामना गर्नेछ। प्रतियोगिता अन्तर्गत बुधबार हुने खेलमा नेपाल पुलिस क्लबले मोरङ– ११ को सामना गर्नेछ।

२०७५ पुष २४, मंगलवार मा प्रकाशित