मोरङमाथि पुलिसको सहज जित

नेपाल पुलिस क्लब ‘तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकप’को क्वाटरफाईनलमा प्रवेश गरेको छ। पुलिसको सहज जितमा तिर्थ रानाले ह्याट्रिक गरे।

प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा मोरङ फुटबल क्लबलाई ३-० ले पराजित गर्दै विभागीय टोली पुलिसले अन्तिम ८ मा स्थान पक्का गरेको हो।

खेलको सुरुवाती समयदेखि दवाव बनाएको पुलिसले तीर्थ रानाको गोलमा अग्रता बनायो। उनले सातौं मिनेटमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तीशाली प्रहारलाई मोरङका गोलरक्षक सन्तोष योन्जनले बचाउन सकेनन्। २५ औं मिनेटमा मोरङका बालाको फ्रिकिकमा गोलरक्षकले पन्च गरेको रिबाउन्डमा विदुर रिजालको प्रहारले पोष्टको दिशा लिन सकेन।

३५ औं मिनेटमा अभिषेक रिजालको उत्कृष्ट मुभमा तीर्थले पुलिसको अग्रता दोब्बर पारे। अभिषेकले विङ्गबाट एक्लै बढाएको बललाई पेनाल्टी क्षेत्रभित्र लग्दै किपरलाई बिट गरेर दिएको पासमा तीर्थले हेडर गोल गरे।

Abhishek Rijal of Nepal Police Club
Abhishek Rijal of Nepal Police Club

४३ औं मिनेटमा तेज तामाङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । दोस्रो हाफमा पनि पुलिसले आक्रमक रणनीतिलाई कायम राख्दै पोस्टमा आक्रमण गरिरह्यो। ५७ औं मिनेटमा सन्तोष हेमरुनको क्रसमा निरकुमार राईको भली प्रहारले पोस्टको दिशा लिन सकेन। लगत्तै निरकुमारले नै छोटो कर्नरमा सिधै पोस्टमा गरेको प्रहार क्रसबारमा लागेर फर्कियो।

७५ औं मिनेटमा अभिषेकको पासमा सन्तोष हेमरुनको प्रहार फितलो रहँदा पुलिसले अग्रता बढाउन सकेन। दोस्रो हाफको इन्जुरी समयमा अभिषेक रिजालको पासमा तिर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे। उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे।

Tirtha Rana of Nepal Police Club
Tirtha Rana of Nepal Police Club

पराजित टोलीका प्रशिक्षक संजीव बुढाथोकीले बलियो पुलिस विरुद्ध आफ्ना युवा खेलाडीले डटेर खेल्न नसकेको बताए । पुलिसका प्रशिक्षक अनन्त थापाले मैदान केही नयाँ भएकोले सेट हुन समय लागेपनि नतिजा हात पार्दा खुसी रहेको बताए । पुलिसले अब पुष २९ गते हुने क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दीको सामना गर्नेछ । बिहिबार हुने खेलमा भ्याली च्यासल युवा क्लबले दिल्ली युनाइटेडसँग खेल्नेछ ।

२०७५ पुष २५, बुधबार मा प्रकाशित