महिला क्रिकेट टिमले टि २० अन्तर्राष्ट्रियमा डेब्यु गर्दै

काठमाडौँ : जनवरी १२ तारिखदेखि थाइल्याण्ड क्रिकेट संघको आयोजनामा थाइल्याण्डमै महिला टि २० स्म्यास प्रतियोगिताको आयोजना हुँदै छ। प्रतियोगितामा ९ राष्ट्रको सहभागिता रहने छ।

जब नेपाल कि कप्तान रुबिना क्षेत्री र चीनकि कप्तान लि हायोयु म्याच रेफ्रीसँगै टसका लागि आफ्नो-आफ्नो देशको जर्सीमा मैदानमा उपस्थित हुनेछन्, नेपालले आधिकारिक रुपमा महिला क्रिकेटको लागि पनि टि २० अन्तर्राष्ट्रिय मान्यता पाउने छ।

नेपालले प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा छिमेकी राष्ट्र चीनको सामना गर्ने छ। चीनले भने यसअघि नै ३ वटा टि २० अन्तर्राष्ट्रिय खेलहरु खेलिसकेको छ।

यसअघि नै नेपालको राष्ट्रिय टिम (पुरुष) ले भने ४ वर्षको लागि एकदिवसीय अन्तर्राष्ट्रिय टिमको मान्यता पाइसकेकोले टि २० अन्तर्राष्ट्रिय मान्यता स्वाभाविक रुपमा पाएको छ।

आइसीसीले सन् २०१८ मा एउटा निर्णय गर्दै आइसीसीका सम्पूर्ण सदस्य राष्ट्रहरुलाई सन् २०१९ को जनवरी १ तारिखदेखि टि २० अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रको अनुमति दिएको थियो। यसबाट पुरुष तर्फका १०५ राष्ट्र र महिला तर्फका ४६ क्रिकेट खेल्ने राष्ट्रहरुलाई वरियतामा समेत राखिएको छ।

देशमा क्रिकेट हेर्ने निकाय नभएको अवस्थामा पुरुष खेलाडी तथा टिमले प्राइभेट सेक्टरको सहयोग पाइरहेका बेला महिला क्रिकेटका गतिविधि भने शुन्य जस्तै छन्। प्राइभेट सेक्टरको लगानीमा देशमा अहिले ३ वटा फ़्रेन्चाइज क्रिकेट लिग छन् भने अन्य घरेलु क्रिकेट प्रतियोगिताहरु पनि छन्।

तर महिला क्रिकेटको लागि भने लगानी गर्ने वातावरण बनिसकेको छैन। त्यसैकारण महिला क्रिकेटले उल्लेख्य प्रदर्शन गर्न सकेको छैन। यसैबीच प्रतियोगिताको अघिल्लो दिन थाइल्याण्ड जानुअघि महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले महिला खेलाडीले पनि विश्वकप खेल्ने सामर्थ्य राख्छन भनेर प्रमाणित गर्नु रहेको बताएकी छन्।

खेलनेपालसँगको कुराकानीमा कप्तान क्षेत्रीले प्रशिक्षक विनोद दासको आगमनले नेपाली टिमलाई ब्याटिङ, बलिङ र फिल्डिङमा धेरै नै सुधार आएको बताइन। “उहाँ आफै पुर्व खेलाडी र कप्तान समेत भएकोले गेम प्लानदेखि लिएर फिटनेसमा समेत महत्त्वपूर्ण जोड दिनुभएको छ। कप्तानको रुपमा समेत मैले धेरै सिक्न पाएँ।” रुबिनाले थपिन्।

करिब १४ महिनाको अन्तरालमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा टिम छनौट गर्न कप्तान र प्रशिक्षक दुवैलाई चुनौतीको विषय हो। तर बिना घरेलु प्रतियोगिताको बावजुत, बिना पारिश्रमिकका बावजुत पनि क्लोज क्याम्पमा खेलाडीको उल्लेख्य उपस्थिती हुनु सुखद पक्ष हो। उनले नै खेलाडीहरुलाई विभिन्न समयमा मौका आउँदा खेल्ने र सिक्ने अवसर खेर नजाओस भनेर फेसबुकबाट नै जानकारी सम्प्रेषण गरेकी छिन्।

नेपाली टिम :- रुबिना क्षेत्री ( कप्तान ), सीता राना मगर ( उप कप्तान ) , करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ट, ममता चौधरी, बिन्दु रावल

अतिरिक्त खेलाडी : रितु कनौजिया, सुमन बिस्ट, सबनम राई

सपोर्ट स्टाफ : विनोद दास ( प्रशिक्षक )  अमृता पौडेल ( व्यवस्थापक ) , सकुना दानी ( फिजीयो )

समुह ए : नेपाल, युएई , चीन, मलेसिया र थाइल्याण्ड ‘ए’, समुह ‘बी’ : थाइल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार

जनवरी १२ – नेपाल Vs चीन – ८:१५ बजे बिहान ( नेपाली समय )
जनवरी १३ – नेपाल Vs मलेसिया – ८:१५ बजे बिहान ( नेपाली समय )
जनवरी १५ – नेपाल Vs युएई – १२:१५ बजे दिउसो ( नेपाली समय )
जनवरी १६ – नेपाल Vs थाईल्याण्ड ‘ए’ – ८:१५ बजे बिहान ( नेपाली समय )

२०७५ पुष २७, शुक्रबार मा प्रकाशित

Leave a Comment