खप्तड गोल्डकप : गोर्खा ब्वाइजलाई हराउँदै संकटा क्वाटरफाइनलमा प्रवेश

धनगढी :  काठमाडौँको सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरको छ । शुक्रबारको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २-० ले पराजित गर्दै संकटा अन्तिम आठमा पुगेको हो ।

धनगढी रंगशालामा संकटाका लागि सातौं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा सरोज दाहालको फ्लिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । १८ औं मिनेटमा गोर्खा ब्वाइजका शिव श्रेष्ठले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गरिदिए ।

३८ औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा कजिमको शक्तिशाली प्रहारलाई राजाबाबुले उत्कृष्ट डाइभ दिँदै बचाए । इन्जुरी समयको पहिलो मिनेटमा संकटाले अग्रता लियो । जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै प्रहार गरेको सटलाई गोलरक्षक सोजित गुरुङले रोक्न सकेनन् ।

दोस्रो हाफको ६६ औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पासमा गोलरक्षक बिट भएपछि एलोन म्याक्सवेलको प्रहारलाई कुलदीप कार्कीले गोललाइनबाट बचाए । ८३ औं मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै संकटाको जित पक्का गरे ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा कुलदिपको पासमा मसुदले वन भर्सेस वनको स्थितिमा प्रहार गरेको सट पोस्टभन्दा माथि गएपछि गोर्खा ब्वाइजले सान्त्वना गोल फर्काउन सकेन ।

विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरेपनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताए । गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको बताए ।

मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछ ।

पहिलो क्वाटरफाइनलमा नेपाल एपीएफ क्लब र मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टर खेल्नेछन् । संकटाले माघ १ गते क्यामरुनको धाउफिन्स एफसीको सामना गर्नेछ ।

२०७५ पुष २७, शुक्रबार मा प्रकाशित

Leave a Comment