थाईल्याण्डमा जारि वुमेन्स टि-२० स्म्यास प्रतियोगिता अन्तर्गत नेपालले लगातार दोश्रो जित हात पार्ने क्रममा मलेसियालाई ६ विकेटले पराजित गरेको छ।
खेलमा टस जितेर पहिले ब्याटिंग गर्दै मलेसियाले ६१ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। ६२ रनको लक्ष्य नेपालले ४ विकेट मात्र गुमाएर पुरा गर्यो।
६२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको सुरुवात पनि राम्रो हुन सकेन। ओपनर काजल श्रेष्ठ ६ रन तथा इन्दु बर्मा ३ रन बनाएर आउट भइन्। धैर्यतापुर्वक ब्याटिंग गरिरहेकी अर्की ओपनर सिता राना मगर १६ रन बनाएर रन आउट हुन पुगिन्। १० ओभरमा ३ विकेट गुमाउदा नेपालले ३२ रन मात्रै बनाउन सकेको थियो।
सरिता मगर पनि खाता नखोली रन आउट हुन पुग्दा ३८/४ को अवस्थामा पुगेको नेपाललाई त्यसपछि रोमा थापा र ममता चौधरीले जिततर्फ डोर्याउने काम गरे। दुवैले पाँचौ विकेटको लागि २४ रनको साझेदारी गर्दा नेपालले १६.२ ओभरमा लक्ष्य पुरा गर्यो र खेल ६ विकेटले सजिलै जित्यो।
रोमा थापाले अविजित २० रन बनाउन २४ बलमा १ चौका प्रहार गरिन्। यस्तै ममता चौधरीले अविजित ९ रन ( १५ बल ) बनाईन्।
मलेसिया बलर इन्टन जाफर र आइना हाशिमले १/१ विकेट लिईन्।

यस अघि पहिलो इनिंगमा नेपालको कसिलो बलिङ सामु टिक्न नसकेको मलेसिया ३ बल अगावै ६१ रनमा अलआउट भयो।
टस जितेर ब्याटिंग गरेको मलेसियाको सुरुवात राम्रो हुन सकेन। ओपनर इलियानी रहिम खाता नखोल्दै दोश्रो ओभरमा कविता कुँवरको बलमा क्याच आउट भइन्। त्यसपछि दोश्रो विकेटको लागि ओपनर याकुप र जिन यीले १९ रनको साझेदारी गरे।
मलेसियाका लागि जिन यी ले सर्वाधिक १२ तथा याकुवले ११ रन बनाइन्। बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि प्लेयर अफ द म्याच समेत चुनिएकी सरीता मगरले ३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिइन्। यस्तै कविता कुँवर, इन्दु बर्मा र नेरी थापाले १-१ विकेट लिइन्।मलेसियाका तीन खेलाडी रनआउट भए।