दिदीवहिनी कप राष्ट्रिय महिला भलिबल माघ अन्तिम साताबाट

काठमाण्डौं-बृहत् एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सव तथा रेडियो दिदीवहिनीको नवौं बार्षिकोत्सवका अवसरमा संचलन हुने दिदीवहिनी कप राष्ट्रिय महिला भलिबल माघ अन्तिम साता देखि संचालन हुने भएको छ ।

आयोजक रेडियो दिदीबहिनी ९५।२ मेगाहर्जकी अध्यक्ष कल्पना चापागाईले पत्रकार सम्मेलनमा जानकारी गराईन् । पर्वतको सदरमुकाम कुश्मा बजारमा माघ २५ देखि फाल्गुन ५ सम्म संचालन हुने बृहत् एघारौं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवका दौरान माघ २८ देखि फाल्गुन १ सम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता तीन दिन सम्म चल्नेछ ।

गत वर्ष जस्तै कम्तीमा ६ टोलीबीच हुने प्रतियोगिताको विजेताले २ लाख, दोस्रो टोलीले १ लाख र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडीले १० हजार,बिधागत ६ उत्कृष्टले जनहि ५ हजार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा तीन विभागिय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, नेपाल एपिएफ क्लबसहित न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चलको टिम, आयोजक दिदिबहिनी क्लबको सहभागिता रहने लगभग निश्चित भएको पत्रकार सम्मेलनमा अध्यक्ष चापागाईले बताईन् । खेलको माध्यमबाट प्रतिस्पर्धा मार्फत राष्ट्रको गौरब बढाउने,कला र संस्कृतिको संरक्षण र घरेलु बस्तुको प्रर्बद्धन गर्दै महिलाहरुको क्षमता अभिवृद्धि तथा समानताको आवाज बुलन्दित गर्न चेतना अभिवृद्धि गर्ने महोत्सवको उद्देश्य रहेको अध्यक्ष चापागाईले बताईन् ।

महोत्सवका दौरान संचालन गरिने खुल्ला दौड प्रतियोगिताको विजेताले २५ हजार, दोस्रो हुनेले १५ र तेस्रो हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दौडमा महिला पुरुषले एकै पटक दौडने छन् ।

भलिबल प्रतियोगिताको उद्घाटनकै माघ २८ गते दौड आयोजना गर्ने योजना रहेको छ । यसवर्ष महिला भलिबल, दौडसहित प्रथम दिदीबहिनी डान्स आईडल, रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, उत्कृष्ट ¥याली तथा झाकी प्रदर्शन महोत्सवका आर्कषक हुन ।

पर्वतका सातवटै पालिकामा निःशुल्क स्वास्थ्य शिविर, विभिन्न राष्ट्रियस्तरका लोक गायक गायिकाको सांगीतिक प्रस्तुती, हाँस्यव्यंग्य प्रस्तुती, जनचेतनामुलक कार्यक्रम प्रस्तुती र जेष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष चापागाईले पत्रकार सम्मेलनमा जानकारी गराईन् ।

महोत्सवका अवसरमा संचालन हुने प्रतियोगिता र पुरस्कार राशी यसप्रकार छ ।

तेश्रो दिदीवहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिताः

क- प्रथम पुरस्कार रु। २,००,०००।–

ख- द्धितीय पुरस्कार रु। १,००,०००।–

ग-  तृतीय पुरस्कार रु। ५०,०००।–

२०७५ माघ ३, बिहीबार मा प्रकाशित