सर्वाधिक धनराशी जित्ने थ्री स्टार र नेपाल पुलिसको दावी

धनगढी – तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनल शनिबार धनगढी रंगशालामा हुँदैछ। ए डिभिजनका दुई क्लब रुस्लान थ्री स्टार र नेपाल पुलिस मोफसलकै सर्वाधिक धनराशी पुरस्कार रहेको उपाधिका लागि आमने-सामने हुँदैछन् ।

प्रतियोगिताको पूर्वसन्ध्यामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तान एवंम् प्रशिक्षकले मोफसलको यात्रा सर्वाधिक ठूलो प्रतियोगिताको उपाधि सहित गर्ने लक्ष्य राखेको बताएका छन् ।

सेमिफाइनलमा सीएमजी क्लब संकटालाई टाइब्रेकरमा पराजित गर्दै फाइनल पुगेको पुलिसका कप्तान विक्रम धिमालले योजना अनुसार खेल्दै उपाधि जित्ने बताए – ‘हामीले यहाँसम्म आइपुग्दा आफ्नो योजना अनुसार खेलेका छौं । फाइनलमा पनि त्यसलाई निरन्तरता दिंदै उपाधि जित्ने लक्ष्य राखेका छौं’

‘लिगको शीर्ष दुई टोलीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका छौं । युवा टोली भएकाले जोस छ र प्रशिक्षकको निर्देशन अनुसार मैदानमा प्रदर्शन हुँदा सफल भएका छौं ।’

पुलिसका प्रशिक्षक अनन्त थापाले मोफसलको सर्वाधिक धनराशीको प्रतियोगिताको फाइनल पुग्दा टोली हौसिएको बताए -‘लिगमा अपेक्षित प्रदर्शन हुन सकेन । अहिले मोफसलको सर्वा्धिक धनराशीको पुरस्कार रहेको प्रतियोगितामा फाइनल यात्रा तय गर्दा पुरै टोलीको मनोबल बढेको छ । फाइनलमा राम्रो प्रदर्शन गर्दै उपाधि जित्ने छौं’

‘ हामीले एकरुपताको प्रदर्शन गरेका छौं । हरेक टोलीलाई दबाब राख्दै जित दर्ता गरेका छौं ।’ प्रशिक्षक थापाले लिगमा सहजै जित दर्ता गरेपनि थ्री स्टारविरुद्ध सहज रुपमा नलिने र सहज भएर खेल्ने पनि बताए ।

रुस्लान थ्री स्टारका कप्तान विक्रम लामाले अपेक्षा गरे अनुसार नतिजा हासिल गरिरहेको बताए -‘ लिगमा हाम्रो प्रदर्शन राम्रो हुन सकेको थिएन । मोफसलमा हामीले राम्रो सुरुवात गर्ने लक्ष्य राखेका थियौं । यस प्रतियोगितालाई हामीले शिक्षाको रुपमा लिएका छौं । अब फाइनलमा उपाधि जितेर सुखद सुरुवात गर्न तत्पर छौं,’

’ पुलिस एकदम राम्रो टोली हो । पुलिस टोली उत्कृष्ट लयमा छ र राम्रो खेल्छ । फाइनल सहज पक्कै हुने छैन ।’

थ्री स्टारका प्रशिक्षक उज्जवल मानन्धरले विपक्षी भन्दा बढी मिहनेत गरेर उपाधि जित्ने बताए -‘फाइनल पुगेका छौं । लक्ष्य भनेको उपाधि जित्ने नै हो । विपक्षी टोलीभन्दा बढी मिहिनेत गर्दै नतिजा आफ्नो पक्षमा पार्ने प्रयास गर्नेछौं,’

‘टोलीको मनोबल उच्च रहेको छ । लिगको नतिजा बिर्साउनको लागि भएपनि हामीलाई यस उपाधि आवश्यक छ ।’ थ्री स्टारका व्यवस्थापक मुकेश नकर्मीले पनि राम्रो प्रदर्शन भइरहेकाले उपाधि जित्नेमा आशावादी रहेको बताए ।

शनिबार धनगढी रंगशालामा हुने प्रतियोगिताको फाइनल विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेता टोलीले पनि १० लाख रुपैयाँ हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाइकल प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ हरेकले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

२०७५ माघ ४, शुक्रबार मा प्रकाशित

Leave a Comment