रंगशाला रंगाएको त्यो खेल

पोखरा – महिला भलिबल, यतिबेला नेपालमा फष्टाउँदै आएको एउटा खेलको विधा हो । खासगरि महिला भलिबमा बलियो मानिने विभागीय टोलीलाई पनि चुनौती दिने खेल पस्किन्छ केहि टोली ।

तीन विभागीय टोलीलाई टक्कर दिने टोलीको रुपमा न्यू डायमण्ड क्लबलाई लिईन्छ । अन्य भलिबल टोलीमा चितवन टाईग्रेस, पोखरा पिङ्स पनि महिला भलिबलमा उदाउँदा नाम हुन् ।

यतिबेला पोखरा रंगशालामा जारि सभामुख कप महिला भलिबलको शुक्रबार भएको सेमिफाइनल खेलमा भने प्रदेश नम्बर ३ ले नेपाल पुलिससंग हेर्न लाएक खेल प्रदर्शन गर्याे ।

काठमाडौँको न्यू डायमण्डका खेलाडी समावेश रहेको प्रदेश ३ विरुद्ध जित निकाल्न पुलिसले पाँचौ सेटसम्म कुर्नुपरेको थियो । पहिलो सेट प्रदेश ३ ले २५–१८ ले जित्दै अग्रता बनायो । प्रदेश नम्बर ३ ले उक्त अग्रता भने दोस्रो सेटमा कायम राख्न सकेन । पुलिसले दोस्रो सेट २५–२० ले जित्दै १–१ को बराबरी बनायो ।

दोस्रो सेटमा भने प्रशिक्षक कुमार राईले सिनियर खेलाडीलाई केहि समयको लागि आराम दिएका थिए । उनले तेस्रो सेटमा भने उक्त गल्ती गरेनन् ।

तेस्रो सेट २५–२० ले नै जित्दै प्रदेश ३ ले पुन खेलमा अग्रता लियो । निकैनै रोमाञ्चक बनेको चौथो सेटमा पुलिसले ट्राइबेकरमा २७–२५ खेल २–२ को बराबरी सेटमा पुग्यो ।

त्यसपछि पाँचौ सेटमा पुलिसका प्रशिक्षक रुपेश बिष्ठले चलाखी पुर्ण खेल खेलाउँदै अन्तिम निर्णायक सेट १५–७ जिताउन सफल भए । उनले यो सेटमा क्विक स्पाईकलाई बढी जोड् दिन लगाएका थिए ।

प्रदेश ३ का प्रशिक्षक कुमार राईले भने टोलीको उत्कृष्ट प्रदर्शनका बावजुत पनि हार भएको बताएका छन् । उनले भने, ‘हामीले उत्कृष्ट प्रदर्शन गरेर पनि हार बेहोर्नु पर्‍यो । अब तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रने छौ । उक्त खेलमा केहि रणनीतिक तवरले खेलाउने छु ।’ प्रशिक्षक राईले भने ।

उता पुलिसका प्रशिक्षक रुपेश बिष्टले भने फाइन खेलमा एपीएफलाई हराउँदै उपाधि उचाल्ने बताए । ‘हामी बलिया नै छौँ, यो कुरा प्रमाणित गर्ने समय आएको छ । आज हुने फाइनल खेलमा एपीएफलाई हराउँदै हाम्रो क्षमता प्रस्तुत गर्ने योजना छ ।’ उनले भने ।

शुक्रबारको जितसंगै अब पुलिसले फाइनल खेलमा एपीएफसंग प्रतिस्पर्धा गर्ने भएको छ । फाइनल खेल पोखरा रंगशालमा दिउसो २ः०० बजेबाट शुरु हुनेछ । त्यो भन्दा पहिला गण्डकी प्रदेश र प्रदेश नम्बर ३ ले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

२०७५ माघ ५, शनिबार मा प्रकाशित

Leave a Comment