एमएम कप क्रिकेट : आर्मी च्याम्पियन, पुलिसका दिलिप नाथ प्लेअर अफ दि सिरिज

सुनसरी : राजेश पुलामीको अर्धशतक अनी युवा खेलाडी कुशल मल्लको अलराउण्ड प्रदर्शनमा त्रिभुवन आर्मीले सुनसरीमा सम्पन्न मनमोहन स्मृति कप राष्ट्रिय एक दिवसीय क्रिकेटको उपाधि जितेको छ ।

आर्मीले विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै पहिलो संस्करणको उपाधिमाथि कब्जा जमाएको हो ।

शान्तिदीप नेपाल इनरुवा र इनरुवा नगरपालिकाको संयुक्त आयोजना पहिलो पटक भएको प्रतियोगिताको उपाधि विजेता आर्मीले नगद ४ लाख १ हजार रुपैयाँ हात पार्दा उपविजेता पुलिसले २ लाख १ हजार रुपैयाँ प्राप्त गर्‍यो।

सुनसरीको इनरुवा रंगशालमा भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २४९ रन बनाएको थियो। जवाफमा कमजोर ब्याटिङ गरेको पुलिस ४२.५ ओभरमै अलआउट भयो।

आर्मीका लागि राजेश पुलामी मगरले सर्वाधिक ६९ रन बनाए। कुशल मल्ले ४९ र कप्तान विदनोद भण्डारीले २६ रन बनाए। बलिङमा पुलिसका दिपेश श्रेष्ठले ३ र रामनरेश गिरीले २ विकेट लिए।

कमजोर ब्याटिङ गरेको पुलिसका लागि योगेन्द्र सिंह कार्कीले अर्धशतक प्रहार गरे। पुलिसका लागि योगेन्द्रले सर्वाधिक ५१ रन बनाए हिमाशुं दत्तले २९ तथा अमित श्रेष्ठले २५ रन बनाए।

पुलिसलाई अलआउट गर्न आर्मीका शाहब आलम र कुशल मल्लले ३-३ विकेट लिए। आलमले १० ओभरमा २ मेडन ओभर गर्दै २३ रन खर्चिए भने मल्लले ६.५ ओभरमा ३३ रन खर्चिए। यस्तै सुशन भारिले २ विकेट लिए।

अल-राउण्ड प्रदर्शन गरेका कुशल मल्ल फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए।

पुलिसका दिलिप नाथले प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै उनले नगद ५१ हजार हात पारे। यस्तै आर्मीका भिम शार्की उत्कृष्ट ब्याट्सम्यान तथा पुलिसका सागर ढकाल उत्कृष्ट बलर घोषित भए। दुवैले २०-२० हजार प्राप्त गरे। उदयीमान खेलाडी स्थानीय टिम शान्तिदिपका सरोज बस्नेत घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

 

२०७५ माघ ५, शनिबार मा प्रकाशित

Leave a Comment