जिम्न्यास्टिक सङ्घ पुनःगठन

काठमाडौँ-राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले नेपाल जिम्यास्टिक सङ्घ पुनःगठन गरेको छ । जिम्न्यास्टिक खेलको अस्तित्वमा रहेका दुई कमिटीलाई भङ्ग गर्दै राखेपले आज सङ्घलाई पुनःगठन गरेको हो ।

युवा तथा खेलकूद मन्त्रालयले बनाएको राष्ट्रिय विवाद समस्या साधन तथा सहजीकरण समितिको सिफारिशमा राखेपले अस्तित्वमा रहेका दुवै सङ्घलाई पुनःगठन गर्दै तदर्थ कमिटी गठन गरेको हो ।

मन्त्रालयले विवाद रहेका खेल सङ्घलाई एक बनाउन राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाको नेतृत्वमा तीन सदस्यीय समिति दुई महीनाअघि बनाएको थियो ।

राखेपले ध्रुवबहादुर प्रधानको अध्यक्षतामा सङ्घलाई पुनःगठन गरेको हो । राखेपले बनाएको नयाँ कमिटीमा किशोरबहादुर सिंह सहअध्यक्ष, गीता राणा उपाध्यक्ष, बाबुराम थापा उपाध्यक्ष, राजेश खड्का उपाध्यक्ष, मुकुन्द शर्मा महासचिव, मुकुन्द लाल नकर्मी सचिव र वचन देउजा कोषाध्यक्ष हुनुहुन्छ ।

यस्तै सदस्यमा जनक भट्टराई, शैलेन्द्र श्रेष्ठ, पुरण गिरी, इन्दिरा दाहाल, सुशीलप्रकाश प्रधान, कुस्मिता आचार्यलगायत हुनुहुन्छ ।

पुनःगठन गरिएको सङ्घले सङ्घको विधान संशोधन गर्दै तीन महीनाभित्र निर्वाचन गर्नुपर्ने जिम्मेवारी पाएको छ ।

पछिल्लो समय जिम्न्यास्टिक खेलका दुई सङ्घ अस्तित्वमा रहेको थियो । एक सङ्घलाई राष्ट्रिय र अर्कोलाई अन्तर्राष्ट्रिय मान्यता रहेको थियो ।

किशोरबहादुर सिंहको नेतृत्वमा राष्ट्रिय र ध्रुवबहादुर प्रधानको नेतृत्वमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त सङ्घ अस्तित्वमा थिए ।

२०७५ माघ ९, बुधबार मा प्रकाशित

Leave a Comment