अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजमा नेपाललाई १–० को अग्रता

पाकिस्तान– अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजमा नेपालले पहिलो सफलता हात परेको छ । विश्वमै पहिलो पटक आयोजना भइरहेको अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालको महिला नेत्रहीन क्रिकेट टिमले मंगलवार पाकिस्तानको महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले पराजित गर्दै ५ खेलको सिरिजमा १–० को अग्रता बनाएको छ ।

लाहवरस्थित किन्नर्ड द कलेजको क्रिकेट मैदानमा नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि घरेलु टोली पाकिस्तान ५३ रनमै अलआउट भएको थियो । पाकिस्तानले दिएको ५४ रनको सामान्य लक्ष्य नेपालले ५.३ ओभर खेल्दै कुनै विकेट नगुमाई पूरा गरेको हो ।

विनिता पुनले पहिलो ओभरकै सुरुवाती तीन बलमा चौका प्रहार गर्दै नेपाललाई शानदार सुरुवात दिलाएकी थिइन् । नेपालले पहिलो ओभरमै २० रन जोडेको थियो ।

नेपालको जितमा विनिता सवार्धिक २८ रन बनाइन् । १९ बल खेलेकी उनले ५ चौका समेत प्रहार गरिन् । यस्तै मनकेसीले १४ बल खेल्दै २ चौकाको मद्दतमा नटआउट १९ रन बनाइन् ।

पाकिस्तानका लागि किरन रफिकले सवार्धिक ९ रन बनाउदा ४ खेलाडीले खाता समेत खोल्न सकेनन्। पाकिस्तानले १६ रन अतिरिक्तबाट पाएको थियो ।

उत्कृष्ट बलिङ गरेको नेपालको लागि सरिता घिमिरे र भगवती अमगाईले १/१ विकेट लिइन् भने पाकिस्तानका ८ खेलाडी रनआउट भएका थिए । विकेटकिपर मनकेसी चौधरी र सरिता घिमिरेले समान ४ रनआउट गरे ।

उत्कृष्ट फिल्डिङ गर्दै १ विकेट लिनुका साथै चार रनआउट गरेकी सरिता खेलको प्लेअर अफ दि म्याच घोषित भइन्। यस्तै नेपालको जितमा ब्याटिङमा २८ रन बनाएकी विनिता भ्यालुएबल प्लेअर बनिन्। सरिताले नगद १५ हजार पाकिस्तानी रकम हात पारिन् भने विनिताले ५ हजार पाकिस्तानी रकम प्राप्त गरिन् ।

सिरिजअन्तर्गत अबका खेलहरु फैसलावाद र इस्लामावादमा हुनेछ । दोस्रो खेल बिहीवार फैसलावादमा हुनेछ। नेपाली टोली वुधवार लाहोरबाट फैसलावाद जानेछ ।

२०७५ माघ १५, मंगलवार मा प्रकाशित