नेत्रहीन महिला क्रिकेट सिरिज खेल्ने नेपाली टोली फैसलावादमा

काठमाडौं–पाकिस्तान र नेपालबीच भइरहेको पहिलो अन्तराष्ट्रिय नेत्रहीन महिला क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलको लागि नेपाली टोली फैसलावाद पुगेको छ ।

नेपाली टोली आजै लाहोरबाट फैसावाद गएको हो । लाहोरमा मंगलवार भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो । आजै पाकिस्तानी टोली पनि फैसलावाद आइपुगेको छ ।

नेपाल र पाकिस्तानबीचको दोस्रो खेल बिहीवार फैसवादस्थित इकवाल स्टेडियममा हुनेछ । खेल टि–२० फर्म्याटमा हुनेछ । नेपालल फैसलावाद आउनुअघि लाहोरमा आज बिहान १ घण्टा अभ्यास गरेको थियो ।

लाहोरस्थित किन्नर्ड कलेज फर वुमन्स युनिभर्सिटीमा पहिलो खेल सहजै जितेको नेपाली टोली बाँकि खेल जित्दै नेत्रहीन महिला क्रिकेटको ऐतिहासिक सिरिज जित्ने योजनामा छ ।

नेपाली टिमका कप्तान भगवती भट्टराई र पाकिस्तानी टिमका कप्तान रबिअ शेहजादीले फैसलावादमा रहेको फैसलावाद युनिभर्सिटीको स्पोर्ट्स फेस्टिभलको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

नेपाल र पाकिस्तानबीच तेस्रो खेल शुक्रवार फैसलावदस्थित डिभिजन पब्लिक स्कुल ग्राउण्डमा हुनेछ। फैसलावदमा दुई खेलपछि दुवै टोली अन्तिम दुई खेलका लागि इस्लामावाद जानेछ ।

यस्तै चौथो र पाँचौ खेल भने इस्लामावादस्थित शालिमार क्रिकेट स्टेडियम एफ मा हुनेछ ।

२०७५ माघ १६, बुधबार मा प्रकाशित

Leave a Comment