एजेन्सी-इंग्लिश प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा आर्सनलले सहज जित निकालेको छ । आर्सनलले फुलहमलाई ४-१ गोल अन्तरले हराएको हो ।
आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन ग्रानिट जाका, एलेक्जेन्डर लाकाजेट्स, आरोन रामसे र पेरिक एम्रिक आबुमियाङले एक एक गोल गरे । उता फुलहमका अबुबाकर कामराले एक गोल फर्काए ।
फुलहमविरुद्ध खेलको २५ औं मिनेटमा जाकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले अघि रहेको आर्सनलले दोस्रो हाफमा तीन गोल गर्यो ।
खेलको ५५ औं मिनेटमा लाकाजेट्सले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए । उता फुलहमले खेलको ६९ औं मिनेटमा एक गोल फर्काउदै २-१ को स्थितिमा ल्याए ।
त्यस्तै खेलको ७९ औं मिनेटमा रामसेले गोल गर्दै आर्सनललाई ३-१ को अग्रता दिलाए । त्यसको चार मिनेट नबित्दै खेलको ८३ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई सहज जित दिलाए ।
आजको जितसंगै पाँचौ स्थानको आर्सनलले २१ खेलबाट ४१ अंक जोडेको छ । पराजित फुलहमले भने १४ जोडेर रेलिगेसन जोनमा छ ।