काठमाडौं-पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दुई खेल अगावै च्याम्पियन बनेको मनाङ मस्र्याङ्दी क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ ।
लिगको १२ औं खेल सम्म आइपुग्दा समेत मनाङ अपराजित रहेको छ । बुधबार भएको १२ औं खेलमा मनाङले हिमालयन शेर्पा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन मनाङले लिगमा अपराजित यात्रा कायम राखेको हो ।
बारम्बार गोलको प्रयास गरेपनि मनाङले ३६ औं मिनेटमा पुगेर अग्रता बनायो । उसका अफिज ओलाओलेले गोल गर्न सफल भए । तर ४५ औं मिनेटमा शेर्पाले खेल बराबरीमा पुर्यायो । उसका लागि विश्वास श्रेष्ठले गोल गर्न सफल भए ।
पहिलो हाफमा बराबरीमा रोकिएको मनाङले ६४ औं मिनेटमा फेरी अग्रता बनायो । उसका लागि विशाल राइले दिपक राइको पासको सदुपयोग गर्दै गोल गरे । ७० औं मिनेटमा मनाङ र शेर्पा १० खेलाडीमा झरे ।
खेलमा अभद्र ब्यवहार देखाएको भन्दै मनाङका मुहम्मद आरिफ र शेर्पाका विश्वास श्रेष्ठलाई रातो कार्ड दिइयो । त्यसपछि दुबै टिमबाट गोल भएन र मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राख्यो ।
