ए डिभिजन लिग : संकटालाई दोस्रो स्थान, थ्री स्टार २-१ गोल अन्तरले पराजित

काठमाडौं – सीएमजी संकटा क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दोस्रो स्थान पक्का गरेको छ । बुधवार भएको खेलमा अमित तामाङको दुई गोल गर्दै संकटालाई दोस्रो स्थान हात परेको हो ।

एन्फा कम्प्लेक्समा भएको खेलमा संकटा क्लबले थ्री स्टारलाई २–१ ले हराउँदै लिगमा दोस्रो स्थान पक्का गरेको हो । मनाङ मस्र्याङ्दीसँग ३–१ ले पराजित भएपछि उपाधि होडबाट हात फेरेको संकटाले आज थ्री स्टारलाई हराउँदै दोस्रो स्थान पक्का गरेको हो ।

जितसँगै लिगमा एक खेलमात्र बाँकी रहँदा संकटाले थ्री स्टारलाई ४ अंकले पछि पारेको हो । हारपछि थ्री स्टार २३ अंकका साथ तेस्रो स्थानमा यथावत् छ । जुन चौथो स्थानको त्रिभुवन आर्मीको भन्दा एक अंकले मात्र माथि हो ।

त्यसैले तेस्रो स्थान जोगाइराख्नका लागि थ्री स्टारलाई लिगको अन्तिम खेल पनि जित्नैपर्ने दबाब छ । मनाङले दुई खेलअघि नै लिगको उपाधि जितिसकेको छ ।

संकटाले दुवै गोल पेनाल्टीमा गरेको थियो । रञ्जन विष्टले ३०औं मिनेटमा गरेको गोलबाट थ्री स्टारले अग्रता लिएको थियो । तर त्यसलाई जोगाउन नसक्दा ललितपुरे क्लबले दोस्रो स्थानमा रहेर लिगको अन्त्य गर्ने सम्भावना समाप्त भएको छ ।

४२ औं मिनेटमा थ्री स्टारका सुनिल बलले अमितलाई लडाएपछि संकटाले पेनाल्टी अवसर पाएको थियो ।

जसलाई अमितले कुनै गल्ति नगरी गोलमा परिणत गर्दै बराबरी गरेका थिए । ६२ औं मिनेटमा थ्री स्टारका पिटर सेगुनले सौजन राईलाई लडाएपछि संकटाले पुनः अर्को पेनाल्टी पायो । त्यसलाई पनि अमितले गोलमा परिणत गरेका थिए । अमितको त्यही गोल संकटाको जितमा निर्णायक बन्यो ।

२०७५ पुष १८, बुधबार मा प्रकाशित