खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक : चार टोलीलाई पहिलो चरणमा वाई

काडमाडौँ–नेपालकै सर्वाधिक धनराशीको तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ। काठमाण्डौंमा जारी पल्सर सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलत तालिका आएपछि आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले आज गोल्डकपको खेल तालिका सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको खेल तालिका अनुसार सहभागी १२ टीमहरुलाई दुई समुहमा विभाजन गरिएको छ । आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब सहित सहित मेची नेत्रालय काकँरभित्ता झापा, नेपाल एपिएफ, भ्याली च्यासल युवा क्लब, रुस्लान थ्री स्टार र दिल्ली एफसी रहेका छन् । यो समुहबाट नेपाल एपिएफ र रुस्लान थ्रीस्टार पहिलो चरणमा वाई पाएर सिधैं क्वाटरफाईनलका खेल खेल्नेछन् ।

उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब र मेची नेत्रालय काकँरभित्ता झापा बीच उद्घाटन खेल हुने छ । यो खेलको विजेताले क्वाटरफाईनलमा नेपाल एपिएफएसँग प्रतिस्पर्धा गर्नेछ । भ्याली च्यासल युवा क्लब र दिल्ली एफसीबीच हुने खेलको विजेता टोलीले क्वाटरफाईनलमा रुस्लान थ्रीस्टारसँग खेल्नेछ।

अर्को समुहमा सिग्नेचर मनाङ मस्याङ्दी, सिएमजी संकटा, नेपाल पुलिस, गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, मोरङ ११ स्पोर्टस क्लब र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब रहेका छन् । यो समुहबाट पनि सिग्नेचर मनाङ मस्याङ्दी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब पनि पहिलो चरणमा वाई पाएर सिंधै क्वाटरफाईनलमा पुगेका छन् ।

मनाङले नेपाल पुलिस र मोरङ ११ स्पोर्टस क्लबको विजेतासँग सेमिफाईनल प्रवेशका लागि खेल्ने छ । क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लबले सेमिफाईनल जानका लागि सिएमजी संकटा र गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही बीचको विजेतासँग खेल्नेछ ।

मंगलवारदेखि आयोजना हुने प्रतियोगिता आउन चार दिन वाँकी रहँदा तयारी अन्तिम चरणमा पुगेको छ। विभिन्न उप समितीहरु गठन गर्दै पुसको सुरुवातदेखि तिव्र रुपमा तयारी थालिएपछि तयारी अन्तिम चरणमा पुगेको आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले बताए।

प्रतियोगिताका लागि मैदान मर्मतको काम गर्न मात्रै बाँकी रहेको छ । प्रतियोगिता अवलोकनका लागि टिकट दर समेत तोकिएको छ । क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ ।

प्रतियोगिताको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछ । उत्कृष्ट खेलाडीले मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले जनही १५÷१५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिता धनगढीमा पुस २४ गतेदेखि सुरु भएर माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।

२०७५ पुष २०, शुक्रबार मा प्रकाशित

Leave a Comment