डिपिएल (३) : पारस पारस नखेल्ने, करन बिराटनगरको रणनीतिक खेलाडी

काठमाडौँ -धनगढी प्रिमियर लिग डिपिएलको तेश्रो संस्करण खेल्ने टिम र रणनीतिक खेलाडीहरु सार्वजनिक भएको छ।

धनगढी प्रिमियर लिग डिपिएल यही माघ २६ गते देखि फाल्गुन ११ गतेसम्म आयोजना हुँदै छ। ६ सहरको प्रतिनिधित्व गर्ने टिमहरु रहेको प्रतियोगिता पहिलो पटक फाप्ला मैदानमा आयोजना गरिदै छ।

प्रतियोगितामा यो पटक एउटा टिमको नाम परिवर्तन भएको छ। धनगढी टिम चौराहाको टिम मालिक परिवर्तन भए पछि नाम परिवर्तन गर्दै धनगढी स्टार्स राखिएको छ। अन्य टिमहरु भने लिगमा उहीनै हुनेछन् जुन यस प्रकार रहेका छन्- धनगढी स्टार्स , सीवाईसी अत्तरिया, बिराटनगर किङ्ग्स, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स।

करन केसी, बसन्त रेग्मी र शरद भेसावकर नयाँ रणनीतिक खेलाडी 

नेपाली क्रिकेट टिमका स्टार खेलाडी करन केसी पहिलो पटक घरेलु फ़्रेञ्चाइज प्रतियोगितामा रणनीतिक खेलाडी हुने भएका छन्। पछिल्लो सिजन बिराटनगर किंग्सका रणनीतिक खेलाडी र कप्तान रहेका पारस खड्काले व्यक्तिगत कारण देखाएर डिपिएल नखेल्ने भएपछि पारसको स्थानमा बिराटनगरले फास्ट बलिङ्ग अल-राउण्डर केसीलाई रणनीतिक खेलाडीको रुपमा राखेको छ। करनले पछिल्लो सिजन डिपिएल महेन्द्रनगर युनाइटेडबाट खेलेका थिए।

यस्तै पछिल्लो सिजन धनगढी प्रिमियर लिग नखेलेका शरद भेसावकरलाई महेन्द्रनगर युनाइटेडले यो पटक रणनीतिक खेलाडीको रुपमा राखेको छ। पछिल्लो सिजन बिनोद भण्डारी टिमको रणनीतिक खेलाडी तथा रहेका थिए जसलाई टिमले निरन्तरता दिएन। शरदले डिपिएलको पहिलो सिजन बिराटनगर किंग्सको कप्तानी गरेका थिए र टिम त्यस सिजन उपविजेता समेत बनेको थियो।

Sharad Vesawkar with DPL winning trophy
शरद भेसावकर महेन्द्रनगर युनाईटेडको रणनीतिक खेलाडी रहनेछन्

यस्तै गत सिजन रुपन्देही च्यलेञ्जर्सका रणनीतिक खेलाडी रहेका शक्ति गौचनले सन्यास लिए पछि टिमले नयाँ रणनीतिक खेलाडीको रुपमा बसन्त रेग्मीलाई नियुक्त गरेको छ। रेग्मीलेनै टिमको कप्तानी गर्ने समेत सम्भावना प्रबल रहेको छ। यस्तै टिमले आफ्नो प्रशिक्षकको रुपमा पुर्व राष्ट्रिय क्रिकेटर तथा यु-१६ राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक रहेका बसन्त शाही ठकुरीलाई नियुक्त गरेको छ।

यस्तै धनगढी प्रिमियर लिगको नयाँ टिम धनगढी स्टार्सको रणनीतिक खेलाडीको रुपमा टिम चौराहाको गत वर्ष कप्तान तथा रणनीतिक खेलाडी रहेका सोमपाल कामि रहनेछन्। सोमपालको नेतृत्वमा टिम चौराहा धनगढीले गत सिजन उपाधि जितेको थियो।

धनगढी प्रिमियर लिग – टिम र रणनीतिक खेलाडीहरु 

धनगढी स्टार्स – सोमपाल कामि  , महेन्द्रनगर युनाइटेड – शरद भेसावकर , बिराटनगर किंग्स –करन केसी
रुपन्देही च्यालेन्जर्स – बसन्त रेग्मी  , काठमाडौँ गोल्डेन्स – ज्ञानेन्द्र मल्ल , सीवाईसी अत्तरिया –दिपेन्द्र ऐरि

धनगढी प्रिमियर लिगले यो संस्करण पनि आफुलाई देशकै ठुलो धनराशीको प्रतियोगिता गर्ने घोषणा गरेको छ। यस अघिको संस्करणमा डिपिएल विजेताले २५ लाख पुरस्कार पाएको थियो। पोखरा प्रिमियर लिगले विजेतालाई २७ लाख राशि दिएको हुँदा यो पटक डिपिएलले त्यो भन्दा बढी रकम विजेतालाई प्रदान गर्नेछ।

डीपीएलको पहिलो र दोस्रो संस्करणको विजेता टिम चौराह धनगढी हो । पहिलो संस्करणमा उसले विराटनगर किंग्स र दोस्रो संस्करणमा काठमाडौं गोल्डन्सलाई पराजित गर्दै उपाधि उचालेको थियो।

डिपिएलको मुख्य प्रायोजकका रुपमा विजय डिस्टिलरीको रुस्लान क्रिकेट रहने छ। यस अघिको सिजनमा समेत रुस्लान डिपिएलको मुख्य प्रायोजक रहेको थियो। प्रायोजन बापत विजय डिस्टिलरीले आयोजकलाई १ करोड १० लाख बराबरको रकम बुझाउने छ। नेपाली घरेलु क्रिकेटमा योनै सर्वाधिक प्रायोजन रकम समेत रहेको छ।

धनगढी प्रिमियर लिगका यस सिजनका खेलहरु फाप्ला मैदानमा खेलाइने भएको छ। यसअघिका दुई सिजन खेलिएको धनगढीको संघीय इकाई प्रहरी कार्यालयको मैदानलाई भने वैकल्पिक मैदानमा तयार पारिने समेत आयोजकले बताएको छ। मैदान तयार गर्न २ महिना अघि देखिनै काम थाली सकीएको छ।

विकेट नेपालबाट साभार

२०७५ पुष २१, शनिबार मा प्रकाशित