एमएम कप वानडे क्रिकेट : पुलिसको विजयी सुरुवात, धमला, राजवंशी र भुर्तेलको उत्कृष्ट प्रदर्शन

सुनसरी : नेपालमा पछिल्लो समय ५० ओभरको क्रिकेट प्रतियोगिताको खडेरी नै लागेको थियो। राष्ट्रिय टिमले खेल्ने बाहेकका घरेलु प्रतियोगिता लगभग शुन्यमै छ। राखेपले गर्ने पीएम कप नै एक मात्र ५० ओभको प्रतियोगिता थियो।

५० ओभरको क्रिकेटलाई नै प्राथमिकतामा राख्दै सुनसरीको इनरुवामा आजदेखि सुरु भएको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिसले जित हात पारेको छ।

नेपालको राष्ट्रिय टिममा पुनरागमन जनाउन नसकेपनि सुनिल धमलाले उत्कृष्ट प्रदर्शन गर्दा पुलिसले उच्च स्कोर बनाएको थियो। सुनिलसँगै कुशल भुर्तेल र दिलिप नाथको अर्धशतक अनि बलिङमा ललित राजवंशी र योगेन्द्र सिंह कार्कीको ३-३ विकेट मद्दतमा पुलिसले प्रदेश २ लाई ११२ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

इनरुवा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले तीन खेलाडीको अर्धशतकपछि निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३११ रन बनाएको थियो। पुलिसका ओपनर सुनिल धमलाले ८० बल खेल्दै १३ चौकाको मद्दतमा सर्वाधिक ७३ रन बनाए।

यस्तै दिलिप नाथले ६१ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ५९ रन बनाए भने कुशल भुर्तेलले नटआउट ५६ रन बनाए। ३६ बल खेलेका भुर्तेलले ७ चौका र १ छक्का प्रहार गरे।

बलिङमा प्रदेश नम्बर २ का सन्जम रेग्मी, हरिशंकर शाह, राशिद खान र बिशाल सुस्लिङले २/२ विकेट लिए।

Lalit Rajbanshi
Lalit Rajbanshi ( File Photo )

जवाफमा ३१२ रनको उच्च लक्ष्य पछ्याएको प्रदेश २ ले ३७.१ ओभर मात्र ब्याटिङ गर्न सक्यो। पुलिसको धारिलो बलिङसामु टिक्न नसकेको प्रदेश नम्बर दुई १५८ रनमै अलआउट भयो।

प्रदेश २ का ओपनर हरिशंकर शाहले ६० बल खेल्दै ६ चौका र १ छक्का मद्दतले ५८ रन बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन। संसाद शेखले २९ र आँशु कन्डोईले २८ रन बनाए।

प्रदेश २ लाई अलआउट गर्न पुलिसका ललित राजबंशी र योगेन्द्र कार्किले ३-३ विकेट लिए। ललितले ९.१ ओभरमा १ मेडन राख्दै ३० रन खर्चिए भने योगेन्द्र कार्कीले ६ ओभरमा ३३ रन खर्चिए। त्यस्तै रामनरेश गिरि, प्रेम तामाङ र कुशल भुर्तेलले समान १ विकेट लिए।

विजयी टिम पुलिसका सुनिल धमला खेलको ‘म्यान अफ द म्याच’ घोषित भए।

प्रतियोगिताअन्तर्गत आइतवार पनि नेपाल पुलिस क्लबले खेल्नेछ। पुलिसे आयोजकको टिम शान्तिदिप इनरुवा ११ सँग खेल्ने छ।

शान्ति दीप नेपाल इनरुवा तथा इनरुवा नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगिता माघ ७ गतेसम्म चल्ने छ।

प्रतियोगिताको विजेताले ४ लाख १ हजार, उपविजेताले २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले ५१ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानले २०/२० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदीयमान टोलीले १० हजार नगद पाउनेछन्।

२०७५ पुष २१, शनिबार मा प्रकाशित