३ कारण जसले गर्दा रियल मड्रिड यो सिजन संघर्ष गर्दैछ

  • पौष-२२, खेलनेपाल

विश्वकै सर्वाधिक ठूलो र धनी क्लब रियल मड्रिड यस सिजन भने खराब समयबाट गुज्रिनु परेको छ। गत बिहिबार भियारियाल विरुद्ध २-२ गोलको बराबरी पछि रियल ला-लिगा फुटबलको अंकतालिकामा १८ खेलबाट ३० अंक सहित चौथो स्थानमा रहेको छ। यस्तै गएराती तुलनात्मक रुपमा कमजोर टोली रियल सोसिडाडसँग २-० ले पराजित भएपछि रियललाई ठूलो धक्का लागेको छ।

यस हारपछि रियल पाँचौ स्थानमा झर्दा शीर्ष स्थानको बार्सिलोनाभन्दा १० अंकले पछि परेको छ। दोस्रो स्थानको छिमेकी एट्लेटिको भन्दा पनि रियल ५ अंकले पछि छ।

चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियलबिच लिगमा १० अंकको भिन्नता रहेको छ। त्यहि बार्सिलोना विरुद्ध अन्तिम पटक लिगमा भेट हुँदा रियलले ५-१ को लज्जास्पद हार बेहोरेको थियो। आगामी मार्च महिनामा दुबै टोलीको पुन: लिगमा दोस्रो भेट हुँदा समेत रियलले सुधारिएको प्रदर्शन गर्नेमा धेरैको शंका रहेको छ।

उता च्याम्पियन्स लिग फुटबलमा समेत रियलको प्रदर्शन सुखद रहन सकेको छैन। समुह चरण अन्तर्गत सिएसकेए मस्काो विरुद्ध समेत हार बेहोरेको रियल अन्तिम १६ का लागि भने छनौट भएको छ। अन्तिम १६ मा रियलको भेट एज्याक्स एम्सटरड्यमसंग रहेको छ र सो टोलि विरुद्ध समेत रियलले संघर्ष नगर्नेमा शंकानै रहेको छ।

यस्तै रियलको प्रदर्शनलाई हेर्दा लिगमा अन्तिम ४ मा नपरेमा अर्को सिजनको च्याम्पियन्स लिगका लागि समेत छनौट हुन रियललाई सजिलो हुनेछैन। यी हुन्य रियलले यस सिजन गर्नु परेको संघर्ष पछाडीका ३ कारण :

१) हतारमा म्यानेजर नियुक्ति गर्नु : स्पेनका तत्कालीन म्यानेजर जुलेन लोपेतेगुईलाई रियलले आफ्नो म्यानेजरका रुपमा घोषणा गर्‍यो।   जसको फलस्वरूप स्पेन फुटबल र रियल बिच केहि खराब सम्बन्ध उत्पन्न भयो। सो घटना पछि स्पेनले तत्कालै फर्नान्डो हरेइरालाई आफ्नो म्यानेजर बनाएको थियो।

उता रियल मड्रिड भने क्लबको भलाइका लागि भन्दापनि आफ्नो दबदबा प्रस्तुत गर्न म्यानेजर नियुक्त गर्ने होडमा रहेको देखिन्थ्यो।

नयाँ प्रशिक्षक जुलेनले रियलमा पुर्व प्रशिक्षक जिदानको झैँ कार्य गर्न विफल रहे र रियललाई प्रशिक्षण गराउनुको दबाब उनीमा प्रस्ट थियो।  बार्सिलोना विरुद्धको लज्जास्पद हार पछि रियलले उनलाई बर्खास्त गर्दै आफ्नै पुर्व खेलाडी सन्टिएगो सोलारीलाई म्यानेजरको जिम्मेवारी दियो।

सोलारीसंग त्यस अघि ठूला क्लबलाई व्यवस्थापन गरेको अनुभव रहेको थिएन। र सो अवस्थामा रियलले एन्टोनियो कोन्ते जस्ता अनुभवी म्यानेजरलाई मौका दिनु उचित थियो। सोलारीले क्लबको जिम्मेवारी लिएपछि समेत रियलले खासै सुध्रिएको प्रदर्शन गर्न सकेको छैन।

२) रोनाल्डोको अभाव पुरा गर्न नसक्नु : सन् २००९ बाट सन् २०१८ सम्म रियलका लागि लगातार खेल जिताउँदै आएका क्रिस्टियानो रोनाल्डोलाई रियलले क्लब छाड्न दिनु रियलका लागि अभिशाप प्रमाणित भयो। ४३८ खेलमा ४५० गोल गरेका रोनाल्डोको जस्तो प्रदर्शन रियलका लागि सायदै कसैले गर्न सक्ला।

रियलका अन्य फरवार्डहरु करिम बेन्जिमा, ग्यारेथ बेल, इस्को र मार्को एसेन्सियोले यस सिजन रोनाल्डोको जस्तो प्रदर्शन गर्ने कुनै सम्भावना समेत देखाउन सकेका छैनन्।

आफ्नो २७ खेलमा १२ गोल गरेका बेन्जिमा अन्यको तुलनामा केहि उत्कृस्ट रहेपनि उनको एक्लो प्रदर्शन रियललाई खेल जिताउन अझै अपुग रहेको छ। यस्तै आफ्नो लय समात्न नसकेका एसेन्सियो र केहि समयबाट बाहिर रहेका इस्कोको समेत क्लबका लागि योगदान खासै रहन सकेको छैन।

उता बेल भने सायदै रियलका लागि अन्तिम सिजन खेल्दै छन्। लुकास भाज्क्वेजलाई उनको स्थानमा प्रयोग गरिएपनि म्याड्रिडका लागि प्रदर्शन गर्न अझै समय लाग्ने देखिएको छ।

३) कमजोर रक्षा पंक्ति : यस सिजन रियलको रक्षापंक्ति समय समयमा अव्यवस्थित देखिंदै आएको छ र सो किसिमको डिफेन्सले रियललाई खेल जिताउन सायदै सहयोग गर्ला। लिगमा अहिलेसम्म रियलले ७ क्लिन सिट राख्न सफल रहेपनि १७ खेलमा २१ गोल खाएको छ।

बिगत १० बर्षभन्दा धेरै समयदेखि रियलको डिफेन्स सम्हालेका सर्जियो रामोसको समेत उमेरसंगै आफ्नो खेल घट्दै गएको छ। यस्तै अर्का कौशल खेलाडी राफाल भरान अझै पनि रियलको डिफेन्स युनिटको नेतृत्व गर्न अझै तयार छैनन्।

नाचो र कार्भाहल जस्ता अन्य रक्ष्य पंक्तिका खेलाडीहरु अन्तिम ११ मा लगातार रुपमा स्थान बनाउन सकिरहेका छैनन्।

रियलले आफ्नो डिफेन्सको समस्या पूर्ति गर्न छिटैनै केहि नयाँ डिफेन्डरलाई टोलीमा भित्र्याउनु पर्ने देखिन्छ।

२०७५ पुष २३, सोमबार मा प्रकाशित