‘ए’ डिभिजन लिग : थ्री स्टाराई तेस्रो स्थान, आर्मी चौथो

काठमाडौं– पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लब तेस्रो भएको छ । आईतबार लिग चरणको अन्तिम खेलमा हिमालयन शेर्पालाई २–० गोल अन्तरले हराउदै थ्री स्टारले तेस्रो स्थान हासिल गरेको हो ।

थ्री स्टारलाई जित दिलाउने क्रममा बुद्ध चेम्जोङ र रन्जन विष्टले एक एक गोल गरे । खेलको २८ औ मिनेटमा बुद्ध चेम्जोङको गोलबाट थ्री स्टारले अग्रता लिएको थियो ।

रन्जन विष्टले दिएको पासको सदुपयोग गर्दै उनले गोल गरेका थिए । पहिलो हाफमा १–० अग्रता लिएको थ्री स्टारले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेल सकिन दुई मिनेट बाँकी रहँदा रन्जन विष्टले गोल गर्दै टोलीको जित सुनिश्चित गराएका हुन् ।

उपाधिको मुख्य दाबेदार मानिएको थ्री स्टारले २६ अंक सहित तेस्रो स्थानमा रहेर लिग अन्त्य गरेको छ । यता शेर्पा भने हारसँगै शीर्ष ६ भित्र पर्ने सम्भावना समाप्त भएको छ ।

आजनै भएको अर्काे खेलमा आर्मीले मछिन्द्रलाई ३–० ले पाराजित गरेको हो । आर्मीको जितका लागि कप्तान भरत खवासले दुई र टंक बस्नेतले १ गोल गरे । पहिलो हाफमा १–० ले को अग्रता लिएको आर्मीले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

आर्मीले २९ औं मिनेटमा मछिन्द्रविरुद्ध सुरुवाती अग्रता लिएको थियो । खेलको ६२ औं मिनेटमा भरतले गोल गर्दै आर्मीको अग्रता दोब्बर पारे ।

त्यसपछि खेलको ७३ औं मिनेटमा भरतले व्यक्तीगत दोस्रो गोल गर्दै आर्मीको जित सुनिश्चित गरे । रेलिगेसन नहुने लिगमा आर्मीले २५ अंक जोडेको छ । मछिन्द्र भने ७ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

२०७५ पुष २२, आईतवार मा प्रकाशित

Leave a Comment