एमएम कप वानडे क्रिकेट : प्रेम तामाङको १३८ रन, पुलिसको लगातार दोस्रो जित

काठमाडौँ : प्रेम तामाङले शानदार ब्याटिङ गर्दै शतकीय इनिङ्स खेलेपछि नेपाल पुलिस क्लबले मनमोहन स्मृति कप एक दिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ।

पुलिसले स्थानीय टिम शान्तिदिप इनरुवालाई २७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो। ब्याटिङमा प्रेतले शतक बनाउँदा कुशल भुर्तेल पनि लगातार दोस्रो अर्धशतक प्रहार गरे। यस्तै अमित श्रेष्ठले पनि अर्धशतक प्रहार गरे।

यस्तै बलिङमा स्पिनर सागर ढकाल र दिपेश श्रेष्ठले उत्कृष्ट प्रदर्शन गरे।

शनिवारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पुलिसले प्रदेश नम्बर २ लाई ११२ रनले पराजित गरेको थियो।

लगातार दोस्रो जितपछि पुलिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सुनसरीको इनरुवा मैदानमा पहिले ब्याटिङ गर्दै पुलिसले ५० ओभरमा ८ विकेट गुमाएर ३७३ रनको उच्च स्कोर बनाएको थियो। जवाफमा शान्निदिपले ९६ रन मात्र बनाउन सक्यो।

प्रतियोगिताको पहिलो शतक बनाउने क्रममा प्रेम तामाङले १२१ बल खेल्दै ४ छक्का र १६ चौका प्रहार गर्दै १३८ रन बनाए। पुलिसका लागि घरेलु क्रिकेटमा शतक बनाउने प्रेम पहिलो खेलाडी बनेका छन्। यस्तै कुशल भुर्तेलले ५१ बल खेल्दै ३ छक्का र ९ चौकाको मद्दतमा ७६ रन बनाए। ओपनर अमित श्रेष्ठले ५३ बलमा १ छक्का र १२ चौकाको मद्दतमा ६९ रन बनाए।

शान्ति दिपका सोनु मण्डलले १० ओभरमा ८० रन खर्चेर सर्वाधिक ५ विकेट लिए।

शान्ति दिपले ३२.३ ओभरमा सबै विकेट गुमाएर ९६ रन बनायो। शान्तिदिपलाई अलआउट गर्न पुलिसका लागि यू-१९ राष्ट्रिय टिमका देब्रे हाते स्पिनर सागर ढकालले ९ ओभरमा २ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट लिए।

यस्तै ललित राजबंशीले २, दिपेश श्रेष्ठ, रामनरेश गिरि र योगेन्द्र कार्कीले १/१ विकेट लिए। फास्ट बलर दिपेशले ६ ओभर बलिङ गर्ने क्रममा लगातार ५ ओभर मेडन गरेका थिए। उनले ६ ओभरमा ४ रन मात्रै खर्चे।

प्रतियोगिताको विजेताले उपाधिसँगै रु. ४ लाख १ हजार , उपविजेताले रु २ लाख १ हजार तथा सेमिफाइनलमा पुग्ने टोलीले रु २५/२५ हजार पाउनेछन्। यस्तै उत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्दा उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही रु २० हजार १०० पुरस्कार पाउनेछन्। अनुशासित टोलीले १५ हजार र उदीयमान टोलीले १० हजार नगद पाउनेछन्।

२०७५ पुष २२, आईतवार मा प्रकाशित