बाँकेको नरैनापुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानको शिलान्यास

बाँकेको कर्णाली भनेर चिनिने नरैनापुर गाउँपालिका–२ को अलिनगरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि शिलान्यास गरिएको छ ।

प्रदेश ५ सरकारको एक स्थानीय तह एक रंगशाला निर्माण गर्ने योजना अनुसार नरैनापुरमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक रंगशाला निर्माणका लागि प्रदेश सभा सांसद कृष्ण केसी नमुना, संविधान सभा सदस्य दिनेशचन्द्र यादव र गाउँपालिका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बिहीबार शिलान्यास गरेका हुन् ।

रंगशालाको शिलान्यास गर्दै प्रदेश सांसद नमुनाले रंगशाला निर्माणपछि बाँकेको नरैनापुरको परिचय नै बदलिने दाबी गरिन् । ‘सुगम जिल्लाको अत्यन्त विकट क्षेत्र भन्दै नरैनापुरलाई विकासमा पछि परेको ठाउँ भनेर चिनिने दिन अब इतिहासमै सीमित हुनेछन्,’ उनले भनिन् ।

१ अर्ब ८ करोड ५४ लाखको लागतमा ७ दशमलव १ बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको सो रंगशालाको डिजाइन दंगिशरण कन्सल्ट दाङ तुलसीपुर कीर्तिपुर काठमाडौंले तयार पारेको हो ।

प्रदेश सांसद केसीले प्रदेश सरकारले बहुवर्षीय योजनाका रूपमा नरैनापुर क्रिकेट रंगशालाको आयोजना अघि सारेको बताउँदै संघ तथा स्थानीय सरकारले पनि अपनत्व लिन आह्वानसमेत गरिन्। आधुनिक क्रिकेट मैदान, स्वीमिङ पुल, लङ टेनिस, बास्केट बल, भलिबल कोर्ट निर्माण गरिनुको साथै भीआईपी, भीभीआईपी र सर्वसाधारणका लागि प्याराफिटसहितको मैदान निर्माण गरिने योजना रहेको बताइन् ।

संविधानसभा सदस्य तथा पूर्वमन्त्री दिनेशचन्द्र यादवले भने, ‘हुलाकी सडक निर्माणसँगै बघौडा क्षेत्र (नरैनापुुर) अब पुरानै र पिछडिएको रहेन अझ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण हुने भएपछि यहाँको विकासमा कोसेढुंगा सावित भएको छ ।’

( समाचार साभार – सदरअनलाइन )

२०७५ माघ १९, शनिबार मा प्रकाशित

Leave a Comment