महिला नेत्रहीन क्रिकेट सिरिजमा नेपालले एक खेल अगावै जित्यो सिरिज

काठमाडौं–नेत्रहीन महिला क्रिकेटमा नेपाललाई ठुलो सफलता मिलेको छ । नेपाली महिला नेत्रहीन क्रिकेट टिमले विश्वमै पहिलो पटक भएको अन्तराष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज जितेको छ ।

पाकिस्तान विरुद्ध भइरहेको सिरिजअन्तर्गत आइतवार भएको चौथो खेल ९ विकेटले जित्दै नेपालले एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको हो ।

यस अघि नेपालले सिरिज अन्तरगतको पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको थियो । फैसलावादमा हुने भनिएको दोस्रो खेल भने वर्षाका कारण रद्ध भएको थियो ।

 

इस्लामावादमा भएको खेलमा नेपाललाई पाकिस्तानले दिएको १०२ रनको लक्ष्य ८-५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो ।

नेपालको लागि विमला राईले सर्वाधिक ४२ रनको योगदान गरिन । उनले १५ बल खेल्दै ९ चौकाको मद्दतमा नटआउट ४२ रन बनाएकी हुन् । यस्तै ओपनर मनकेसी चौधरीले २५ रन बनाउँदा मुना अर्याल २२ रनमा नटआउट रहिन् ।

मनकेसीले १३ बल खेल्दै ५ चौकाको मद्दतमा २५ रन बनाएकी हुन्। मुना अर्यालले २८ बल खेल्दा एक चौका प्रहार गरिन्। मुना अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेटमा चौका प्रहार गर्ने बी वान क्याटेगोरीकी खेलाडी बनिन् । बी वान भएकोले उनको चौकाको ८ रन गणना भएको थियो ।


इस्लामावादस्थित शालिमार क्रिकेट ग्राउण्डमा पाकिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १०१ रन बनाएको थियो।

पाकिस्तानका लागि किरन रफिकले सर्वाधिक १६ रन बनाउँदा ओपनर तयावा फतिमाले १३ रन जोडिन् ।

नेपालको लागि कप्तान विनिता राई, मुना अर्याल र आयुष्मा क्षेत्रीले १९१ विकेट लिइन्। पाकिस्तानका ४ खेलाडी रनआउट भएका थिए।

नेपालको लागि आयुष्मासँगै अन्य दुई खेलाडीले आज पहिलो खेल खेल्दै डेब्यु गरेका छन् ।

डेब्यु गर्नेमा सुस्मा तामाङ र आशिगा डगौरा छन्। नियमित कप्तान भगवती भट्टराई, गीता पौडेल र हिता गुरुङको स्थानमा उनीहरुले खेलेका थिए। कप्तान भगवतीको स्थानमा विनिताले आजको खेलको कप्तानी गरेकी थिइन् ।

२०७५ माघ २०, आईतवार मा प्रकाशित