महिला नेत्रहीन क्रिकेट सिरिजमा नेपाललाई सफलता

काठमाडौं–पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज नेपालले क्लिन स्वीप गरेको छ । सोमवार भएको अन्तिम टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली पाकिस्तान महिला नेत्रहीन क्रिकेट टिमलाई १० विकेटले हराउँदै नेपालले सिरिज ४–० ले जितेको हो ।

पहिलो र तेस्रो खेल समान १० विकेटले जितेको नेपालले चौथो खेल ९ विकेटले जितेको थियो । दोस्रो खेल भने वर्षाका कारण रद्ध भएको थियो ।

आज भएको अन्तिम खेलमा मनकेसी चौधरीले अर्धशतक प्रहार गरेपछि नेपालले पाकिस्तानले दिएको १२७ रनको लक्ष्य १०।४ ओभरमा पूरा गरेको हो ।

मनकेसीले ३६ बल खेल्दै १५ चौकाको मद्दतमा नटआउट ८१ रन बनाइन । यस्तै आशा रेगामीले ३३ बल खेल्दै नटआउट ३२ रन जोडिन्। अन्तर्राष्ट्रिय महिला क्रिकेटमा यो कुनै पनि विकेटको लागि उच्च साझेदारी हो ।

त्यसअघि पाकिस्तानकी कप्तान रबिअ शेहजादीले टस जित्दै ब्याटिङ रोजेकी थिइन्। पाकिस्तानले लगातार तेस्रो पटक टस जितेपनि कुनै पनि खेल जित्न सकेन ।

पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो। पाकिस्तानका लागि ओपनर निशा बुकसले सर्वाधिक ४० रन बनाइन भने तयावा फतिमाले २७ रन जोडिन ।

पाकिस्तानको सबै विकेट नेपालले रनआउटमार्फत लिएको हो ।  विकेटकिपर मनकेसिले ३ तथा बिनिता पुनले २ रनआउट गरिन ।
नेपालको लागि दोस्रो अर्धशतक प्रहार गरेकी मनकेसी प्लेअर अफ दि म्याच घोषित भइन । उनले २५ हजार हात पारिन्। यस्तै भ्यालुएबल प्लेअर बनेकी आशाले ५ हजार हात पारिन  ।

यसैगरी सिरी जितेको नेपालले १ लाख पाकिस्तानी नगद हात र्पायो। पाकिस्तानी टोलीले भने ५० हजारमै चित्त बुझायो ।

यसैगरी सिरिजभर उत्कृष्ट प्रदर्शन गरेकी नेपालकी मनकेसी बी टु क्याटेगोरीतर्फ उत्कृष्ट बनिन्। यस्तै नेपालकै मुना अर्याले बी वान क्याटेगोरीतर्फ र नेपालकी विनिता पुन बी थ्री क्याटेगोरीतर्फ उत्कृष्ट घोषित भइन ।

यस्तै पाकिस्तानी टिमका किरण रफिक उत्कृष्ट विकेट किपर घोषित भइन ।

२०७५ माघ २१, सोमबार मा प्रकाशित