बार्सिलोनालाई पछ्याउदै रियल, एथ्लेटिको ३–१ गोलले पराजित

एजेन्सी–स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा एथ्लेटिको मड्रिडलाई हराउदै रियल ला लिगाको अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।

रियलले एथ्लेटिकोलाई ३–१ गोलले पराजित गरेको हो । एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा रियलले खेलको १६ औं मिनेटमा कासिमिरोको गोलबाट सुरुवाती अग्रता लिएको थियो ।

रियलको जितका लागि बाँकि दुई गोल सर्जियो रामोस र ग्यारेथ बेलले गरेका थिए । उता एट्लेटिकोका लागि एन्टोनियो ग्रीजम्यानले एक सान्तोना गोल फर्काएका थिए ।

ग्रीजम्यानले खेलको २५ औं मिनेटमा घरेलु टोलीका लागि गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । पहिलो हाफ सकिन २ मिनेट बाँकी रहँदा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा बेलले गोल गर्दै रियललाई ३–१ को जित दिलाए । यो गोलसंगै बेलले रियलको लागि सबै खाले प्रतियोगितामा १०० गोल पुरा गरेका छन् ।

जितसँगै रियलले २३ खेलबाट ४५ अंक जोडेको छ । रियलले एट्लेटिकोलाई १ अंकले पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । शिर्ष स्थानको बार्सिलोनाले भने एक खेल कम खेल्दै ५० अंक जोडेको छ ।

२०७५ माघ २७, आईतवार मा प्रकाशित