डर्टमुन्डमाथि टोटेनहमको सहज जित

एजेन्सी–च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब टोटेनहमले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बोरुसिया डर्टमुन्डलाई ३–० ले पराजित गर्दै प्रि-क्वाटरफाइनलको राम्रो सुरुवात गरेको हो ।

निकैनै रोमाञ्चक खेलमा पहिलो हाफ गोल रहित बराबरी रोकिएको थियो । जर्मन लिग लिडर डर्टमुन्डले टोटेनहममाथि पहिलो हाफमा दबाव दिएपनि गोल भने गर्न सफल भएन ।

दोस्रो हाफमा भने घरेलु टोलि टोटेनहम अलि फरक सैलीमा मैदानमा उत्रियो । टोटेनहमले दोस्रो हाफमा डर्टमुन्डलाइ पुर्ण रूपमा दबावमा पार्याे । फलस्वरुप सहज जित निकाल्न सफल भयो ।

टोटेनहामका लागि दोस्रो हाफको सुरूवातमै ह्युङ मिन सनले गोल गर्दै टिमलाइ अग्रता दिलाए । उनले दोस्रो हाफको ४७ औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि ८३ औं मिनेटमा सर्ज औरियरको क्रसमा भर्टोन्घनले गोल गरेका थिए ।

टोटेनहमका लागि खेल सकिन ४ मिनेट बाँकी रहँदा फर्नान्डो लोरेन्टेले गोल गर्दै टोटेनहमको जित पक्का गरे । दोस्रो लेगको खेल डर्टमुन्डको घरेलु मैदानमा ५ मार्चमा हुनेछ ।

२०७५ फाल्गुन २, बिहीबार मा प्रकाशित

Leave a Comment