पिएसजीको सहज जित, मोन्टपेलर ५–१ गोल अन्तरले पराजित

एजेन्सी– फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मोन्टपेलरविरुद्ध सहज जित निकालेको छ । बुधबार राती फ्रान्सेली लिग वन अन्तर्गत भएको खेलमा पिएसजीले मोन्टपेलरलाई ५–१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

आफ्ना स्टार खेलाडी नेयमार र एडिसन काभानी विना मैदानमा उत्रेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मोन्टपेलरलाई फराकिलो अन्तरले पराजित गरेको छ । पहिलो हाफमा २–१ ले अग्रता लिएको पिएसजीले दोस्रो हाफमा थप तीन गोल गर्न सफाल भयो ।

खेलको १३ औं मिनेटमा लेभिन कुर्जावाको गोलमा पिएसजीले सुरुवाती अग्रता लिएकोथियो । तर, ३१ औं मिनेटमा पाहुना टोलीका फ्लोरेन्ट मोलेटले फ्रिकिकमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयमा एन्जल डी मारियाले फ्रिकिकमा गोल गर्दै पहिलो हाफमा पीएसजीलाई २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको ७३ औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै पीएसजीको अग्रता ३–१ पारे । ७८ औं मिनेटमा भिटोरिनो हिल्टनले आत्मघाती गोल गरेपछि पीएसजीको अग्रता थप फराकिलो भयो ।

लगत्तै किलियन एमबाप्पेले गोल गर्दै पीएसजीले मोन्टपेलरमाथि ५–१ को फराकिला जित निकालेको हो । यस जितसँगै पीएसजीले २४ खेलमा ६५ अंक जोड्दै १५ अंकको अग्रता लिएको छ । दोस्रो स्थानमा रहेको लिलले २५ खेलमा ५० अंक जोडेको छ ।

२०७५ फाल्गुन ९, बिहीबार मा प्रकाशित