डेब्यु खेलमै सन्दीप लामिछानेको तीन विकेट

एजेन्सी-नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) को डेब्यु खेलमा उत्कृष्ट सुरुवात गरेका छन् । लाहोर कलन्दर्सबाट डेब्यू गरेका उनले मुल्तान सुल्तानविरुद्ध डेब्यू गर्दै तीन विकेट लिएर प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेका छन् ।

४ ओभर बलिङ गरेका सन्दीपले ४६ रन खर्चेर ३ विकेट लिएका छन् । ९ औं ओभरमा बलिङ गर्न आएका सन्दीपलाई जेम्स भिन्सले २ छक्का र १ चौका प्रहार गर्दा १७ रन खर्चिन पुगे ।

त्यसपछि टोलीको १२ औं ओभर लिएर आएका उनले ८४ रनमा खेली रहेका जेम्स भिन्सलाई क्याच आउट गरे । सन्दीपले डेब्यू पहिलो विकेट मात्र होइन पहिलो विकेटको लागि १ सय ३५ रनको साझेदारी पनि तोडे । सन्दीपले १२ औं ओभरमा १ विकेट सहित ७ रन खर्चे ।

१४ औं ओभरको अन्तिम बलमा सन्दीपले सोएव मालिकलाई १० रनमा क्याच आउट गराउँदै दोस्रो विकेट लिए । १६ ओभरको पहिलो बलमा छक्का हानेका आन्द्रे रसेललाई सन्दीपले तेस्रो बलमा आफै क्याच लिदै ७ रनमा पेभिलिएन फर्काए ।

२०७५ फाल्गुन १०, शुक्रबार मा प्रकाशित

Leave a Comment