नेपाली फुटबलका नयाँ प्रशिक्षक योहान कलिनको लक्ष्य ‘स्तर सुधार गर्ने’

काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले नेपालको राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कलिनलाई आइतवार पहिलो पटक सार्वजनिक गरेको छ।

यसअघि नेपालको ए डिभिजन क्लब सम्हालेका कलिन राष्ट्रिय टिमको बागडोर सम्हाल्न बिहीवार काठमाडौँ आइपुगेका थिए।

फेरी नेपाल बउन पाउँदा कलिनले एन्फालाई धन्यवाद दिँदै आभार प्रकट गरे। नेपालको राष्ट्रिय टिमको प्रशिक्षक भएर आउन पाउँदा म खुशी छु। एन्फालाई धन्यवाद कलिनले आइतवार एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा भने।

स्वीडिस प्रशिक्षक कलिन सन् २०१४ मा ए डिभिजन क्लब मछिन्द्रको प्रशिक्षक बन्दै नेपाल आएका थिए। उनको प्रशिक्षणमा मछिन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै लिगमा दोस्रो स्थान हात पारेको थियो।

यस पटक नेपालको राष्ट्रिय टिमको प्रशिक्षक बनेर आएका कलिनको सम्झौता अवधी दुई वर्षको रहेको छ।

उनले यो दुई वर्षको अवधीमा नेपाली फुटबलको स्थर सुधार गर्ने र साफ च्याम्पियनसिपको लागि तयार रहने बताए।

उनको सम्झौता २०१९ मार्च १ बाट लागु हुने एन्फाले जनाएको छ। कलिन युइएफए ए डिप्लोमा सर्टिफाइट प्रशिक्षक हुन्। २०१९ जनवरी १७ को एन्फा कार्यसमिति बैठकले कलिनलाई नेपालको नयाँ प्रशिक्षक नियुक्त गरेको थियो।

कलिनले नेपालको प्रशिक्षकको रुपमा पहिलो परिक्षण मलेसिया विरुद्धको मैत्रीपूर्ण खेल हुनेछ। नेपालले मार्च २६ मा मलेसियासँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ।

‘म नेपालको प्रतिभावान युवा खेलाडीसँग काम गर्न एकदमै उत्साहित छु। मेरो पहिलो काम भनेको मलेसिया विरुद्धको मैत्रीपूर्ण खेल हुनेछ।’

उनले नेपाली खेलाडीको प्रदर्शन हेर्न पोखरामा भइरहेको आहा रारा गोल्डकपमा हेर्न भोली पोखरा जाने जानकारी दिए।

यस्तै कलिनले आफ्नो लक्ष्य नेपालको फुटबल स्तर सुधार गर्ने रहेको तर अहिल्यै के के गर्न सकिन्छ भनेर भन्न नसकिने प्रष्ट पारे।

 

फोटो : एन्फा

२०७५ फाल्गुन १२, आईतवार मा प्रकाशित