पिएसएल : तेस्रो खेलमा सन्दीपको प्रदर्शन कस्तो रहला?

काठमाडौं– पाकिस्तान सुपर लिग (पिएसएल) अन्तरगत नेपाली राष्ट्रिय टोलीका युवा लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले आज (बुधबार) आफ्नो तेस्रो खेल खेल्दै छन् ।

लाहोर कलन्दर्सबाट पिएसएल खेली रहेका सन्दीपले क्वेटा ग्लाडियटर्सविरुद्ध मैदान उत्रिने मौका पाए यो तेस्रो खेल हुने छ।

खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ। पिएसएलका दुई खेल मात्र खेलेका सन्दीपले निकैनै राम्रो सुरुवात गरेका छन्। उनले दुई खेल खेल्दै चार विकट लिएका छन्।

डेब्यु खेलमा आफ्नो उत्कृष्ट प्रदर्शन देखाउँदै सन्दीपले तीन विकेट लिएका थिए। त्यस्तै दोस्रो खेलमा क्वेटाविरुद्ध नै शनिबार भएको खेलमा ४ ओभर बलिङ गर्दै २० रन खर्चिएर १ विकेट लिएका थिए।

पछिल्ला पाँच खेलमा लाहोरले क्वेटालाई हराउन सकेको छैन। जसको कारण बुधबार लाहोरलाई जित निकाल्न निकै मेहनत गर्नु पर्ने देखिन्छ। पाँच खेलमा ४ जितसहित क्वेटा लिगको शीर्ष स्थानमा रहेको छ । पाँच खेलमा २ जित निकाल्न सफल लाहोर अंक तालिकाको चौथो स्थानमा रहेको छ।

२०७५ फाल्गुन १५, बुधबार मा प्रकाशित