नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिँदा पाकिस्तान सुपर लिग ( पिएसएल )मा लाहोर कलन्दर्सले तेस्रो जित हात पारेको छ। सन्दीपको ४ विकेट र ए बि डीभिलियर्सको नटआउट ४७ रनको सहयोगमा लाहोरले शीर्ष स्थानको क्वेट्टा ग्लाडिएटर्सलाई ८ विकेटले पराजित गर्यो।
सन्दीपको घातक बलिंग :
सन्दीपले शानदार बलिंग गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिएपछि लाहोरले क्वेट्टालाई निर्धारित २० ओभरमा १०६ रनमा रोक्न सफल भएको थियो।
जवाफमा १०७ रनको लक्ष्य लाहोरले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। लाहोरका लागि डीभिलियर्सले अविजित ४७ रन ( ३८ बल, ७ चौका ) बनाए। डीभिलियर्स र हरिस सोहेलले तेस्रो विकेटका लागि अविजित ७४ रनको साझेदारी गर्दा सोहेलले अविजित ३३ रन ( ४२ बल, ३ चौका ) बनाए। कप्तान तथा ओपनर फखर जमान २ रनमै आउट हुँद अर्का ओपनर अलीले २१ रन बनाएका थिए।
त्यसअघि लाहोरले टस जित्दै क्वेट्टालाई पहिले ब्याटिंग गर्ने निम्तो दिएको थियो। नेपालका युवा स्टार बलर सन्दीप लामिछानेले सुरुवात देखिनै विकेट लिँदै क्वेट्टालाई दवावमा राखेका थिए। सन्दीपको शानदार बलिंगपछि क्वेट्टा १९.१ ओभरमा १०६ रनमा समेटिएको थियो।
सन्दीपले खेलको चौथो ओभरमै बलिङ गर्ने अवसर पाएका थिए। त्यस ओभरमा उनले आफूलाई प्रमाणित पनि गरे।
आफ्नो पहिलो ओभरमा ओपनर शेन वाट्सनलाई एल बि डब्लु धरापमा पारेपछि सन्दीपले निरन्तर बलिंग गरे। पावर प्लेमा २ ओभर बलिंग गरेका सन्दीपले १० ओभर भित्रनै आफ्नो ४ ओभरको कोटा पूरा गरिसकेका थिए।
किफायती बलिङ गर्दै सन्दीपले ४ ओभरमा मात्र १० रन खर्चेर ४ विकेट लिए।
सन्दीपले छैटा ओभरमा राइलि रुस्सो र उमर अकमललाई आउट गरेका थिए। यस्तै आठौँ ओभरमा डेनिस अजिलाई आउट गरेका सन्दीपले दशौँ ओभरमा भने विकेट लिन सकेनन्।
सन्दीपले ४ ओभर स्पेशलमा २४ बल फाल्दा १५ बल डट राखे भने कुनैपनि बाउन्ड्री दिएनन्। सन्दीपकै उत्कृष्ट प्रदर्शनपछि क्वेट्टाले १०६ रन मात्र बनाउन सकेको थियो। क्वेट्टाका लागि अहसन अलीले सर्वाधिक ३३ रन बनाउँदा कप्तान सरफराज अहमदले २९ रन जोडेका थिए।
यस्तो थियो सन्दीपको चार ओभरको स्पेल :
- पहिलो ओभर : ३ रन १ विकेट ( वाट्सन् १ रन, अली ० रन, अली १ रन, विकेट – वाट्सन्, रुस्सो ० रन, रुस्सो १ रन )
- दोस्रो ओभर : २ रन २ विकेट ( विकेट – रुस्सो, अकमल १ रन, अली ० रन, अली ० रन, अली १ रन, विकेट – अकमल )
- तेस्रो ओभर : ३ रन १ विकेट ( अजिज ० रन, अजिज ० रन, विकेट – अजिज, सरफराज ० रन, सरफराज १ रन, अली २ रन )
- चौथो ओभर : २ रन ( नवाज ० रन, नवाज १ रन, सरफराज १ रन, नवाज ० रन, नवाज ० रन, नवाज ० रन )
४ ओभरमा १० रन खर्चेर ४ विकेट लिएका सन्दीप खेलको प्लेयर अफ दि म्याच समेत बने। अन्तर्राष्ट्रिय टि-२० लिगमा सन्दीपको यो पहिलो प्लेयर अफ दि म्याच अवार्ड समेत हो। सन्दीपले प्लेयर अफ दि म्याच बनेबापत अमेरिकन ४५०० डलर समेत प्राप्त गरे।
यस्तै खेलमा सरफराज अहमदलाई आउट गर्न यासिर शाहको बलमा सन्दीपले उत्कृस्ट क्याच समेत गरेका थिए। सन्दीपको सो क्याचको लागि समेत उत्कृस्ट क्याचको अवार्ड हात पारे।
