म्याक्स्वेलको शतकमा अष्ट्रेलियाको जित, सिरिजमा अष्ट्रेलियाको कब्जा

ग्लेन् म्याक्स्वेलले सानदार ब्याटिंग गर्दै बिष्फोटक शतक बनाएपछि घरेलु टोली भारत बिरुद्धको दोस्रो टि-२० अन्तर्राष्ट्रियमा अष्ट्रेलियाले ७ विकेटको जित दर्ता गरेको छ। जितसंगै भ्रमणकारी टोलीले २ खेलको शृंखला समेत २-० ले आफ्नो नाम गर्यो।

बैंगलोरमा बुधवार राति सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै भारतले दिएको १९१ रनको लक्ष्य अष्ट्रेलियाले २ बल अगावै ३ विकेट गुमाएर पुरा गर्यो। उसको जितमा ग्लेन् म्याक्स्वेलले अविजित ११३ रन तथा पिटर ह्यान्ड्सकम्बले अविजित २० रन जोडे।

ठूलो लक्ष्य पच्छ्याउने क्रममा अष्ट्रेलियाको सुरुवात राम्रो रहेन। ओपनर मार्कस स्टोईनिश ७ र कप्तान एरन फिंच व्यक्तिगत ८ रन जोड्दै पभेलियन फर्किंदा अष्ट्रेलियाले २२ रन जोड्न २ विकेट गुमाएको थियो। त्यसपश्चात चौथो नम्बरमा ब्याटिंग गर्न आएका म्याक्स्वेलले ओपनर डार्सि शर्टसंग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे। शर्ट बाह्रौं ओभरको पहिलो बलमा बिजय शंकरको शिकार बने। त्यसक्रममा उनले मात्र २८ बलमा ६ चौका सहित ४० रन जोडे।

शर्तको विकेट पश्चात अष्ट्रेलियाको इनिंग सम्हाल्ने क्रममा म्याक्स्वेलले ह्यान्ड्सकम्बसंग मिलेर चौथो विकेटका लागि अविजित ९९ रनको साझेदारी गरे। व्यक्तिगत टि-२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक जोड्ने क्रममा म्याक्स्वेलले ५५ बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै ११३ रनमा अविजित रहे।

यस्तै पिटर ह्यान्ड्सकम्बले १८ बलमा २० रन जोड्न १ चौका प्रहार गरे।

भारतको बलिङ्गमा विजय शंकरले सार्वाधिक २ विकेट ( ४-०-३८-२ ) हात पारेपनि त्यो जितका लागि पर्याप्त रहेन। यस्तै सिदार्थ कौलको नाममा १ विकेट रह्यो।

यसअघि पहिलो इनिंगमा ब्याटिंग गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९० रन जोडेको थियो। भारतका विराट कोहलीले सर्वाधिक ७२ तथा लोकेश राहुलले ४७ रन जोडेका थिए।

राम्रो सुरुवात दिलाएका राहुलले मात्र २६ बलमा ३ चौका र ४ छक्का सहित ४७ रन जोड्दा भारतले ६१ रनको स्कोरमा पहिलो विकेट गुमाएको थियो।

राहुलको विकेट पश्चात ब्याटिंग गर्न आएका कोहलीले बिष्फोटक ब्याटिंग गर्दै मात्र ३८ बलमा ७२ रन बनाउन २ चौका र ६ छक्का प्रहार गरेका थिए। त्यसक्रममा उनले महेन्द्रसिंह धोनीसंग चौथो विकेटका लागि १०० रनको साझेदारी समेत गरे। धोनी २३ बलमा ३ चौका र  समान छक्का प्रहार गर्दै ४० रन बनाउंदा प्याट्रिक कमिंसको शिकार बनेका थिए।

अष्ट्रेलियाको बलिङ्गतर्फ डार्सि शर्ट, प्याट कमिंस, नेथन कुल्टरनाइल र जेसन बेरेनड्रफ़ले समान १-१ विकेट हात पारेका थिए।

Photos : (@BCCI & @CricketAus)

२०७५ फाल्गुन १६, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment