कर्णाली प्रिमियर लिगको दोस्रो संस्करण वैशाखमा

सुर्खेत : कर्णाली प्रिमियर लिग (केपीएल) टि-२० क्रिकेटको दोस्रो संस्करण २०७६ बैशाखमा हुने भएको छ।

कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा हुने प्रतियोगिता कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको रंगशालामा हुनेछ। प्रतियोगिता बैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने एकेडेमीका अध्यक्ष जीवन शाहीले जानकारी दिए। कर्णाली प्रदेशबाट राष्ट्रिय क्रिकेटमा च्याम्पियन बनाउने, राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए।

शाहीका अनुसार प्रतियोगितामा देशभरका ८ वटा क्लबहरुको सहभागिता रहनेछ। राष्ट्रियस्तरमा ख्याति कमाएका खेलाडीहरुको सहभागिता रहने प्रतियोगिता प्रदेशकै सर्वाधिक धनराशी हुने आयोजकको दावी छ।

एक साता धन्दा बढी सञ्चालन हुने प्रतियोगिता झण्डै ६० लाख खर्च हुने अनुमान गरिएको छ। साथै, खेलमा सहभागी हुने क्लबहरुले प्रत्येक टिममा २ जना विदेशी खेलाडी सहभागी गराउन सक्ने छन्।

प्रतियोगितामा ८ टिमलाई २ वटा समुहमा विभाजन गरि प्रत्येकले एक–अर्कासंग १–१ खेल खेलेपछि समुहको उत्कृष्ट दुई टिमले सेमीफाइनलमा खेल्न पाउने छन्।

लिगकम नकआउट फर्म्याटमा हुने प्रतियोगिता आईसीसीको नियम अनुसार खेलाइने शाहीको भनाई छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक खेलाडीको आवास र खानाको व्यवस्था आयोजकलेनै गर्ने अध्यक्ष शाहीले बताए।

यस अघि कर्णाली प्रिमियर लिगको पहिलो संस्करण बन्धु विकास बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको थियो। पहिलो संस्करणमा विजेतालाई तीन लाख रुपैयाँ दिएको थियो।

२०७५ फाल्गुन १९, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment