ला लिगा : मोराटाको दुई गोलमा एट्लेटिको मड्रिड विजयी, रियल भन्दा ५ अंकले अगाडि

अल्भारो मोराटाले दुई गोल गरेपछि एट्लेटिको मड्रिडले स्पानिस ला लिगाअन्तर्गत गएराती भएको खेलमा रियल सोसिडाडलाई पराजित गरेको छ।

मोराटाले तीन मिनेटको अन्तरमा पहिलो हाफमै दुई गोल गरेपछि दश खेलाडीमा झरेपनि एट्लेटिकोले रियल सोसिडाडलाई २-० ले पराजित गरेको हो। जितपछि दोस्रो स्थानको एट्लेटिकोले छिमेकी रियल मड्रिडमाथि ५ अंकको अग्रता बनाएको छ।

२६ खेलबाट एट्लेटिकोले ५३ अंक जोडेको छ। समान खेलबाट ६० अंकसहित बार्सिलोना शीर्ष स्थानमा आसिन छ भने उती नै खेल खेलेको रियलको ४८ अंक छ।

सोसिडाडको घरेलु मैदानमा भएको खेल एट्लेटिकोका लागि मोराटाले ३०औँ र ३३औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए। ६२औँ मिनेटमा कोकेले रातो कार्ड पाउदै मैदान छाडेपछि एट्लेटिको दश खेलाडीमा झरेको थियो। तर त्यसको फाइदा भने सोसिडाडले उठाउन सकेन।

२०७५ फाल्गुन २०, सोमबार मा प्रकाशित