प्रिमियर लिग : सलाहले अवसर गुमाउँदा लिभरपुल बराबरीमा रोकियो

प्रिमियर लिगमा आइतवार भएको खेलमा दोस्रो स्थानको लिभरपुल एभरटनसँग बराबरीमा रोकिएको छ।

मोहम्मद सलाहले पहिलो हाफमा गोलको लागि पाएको अवसर गुमाउँदा लिभरपुल एभरटनसँग गोलरहित बराबरीमा रोकिएको हो।

बराबरीपछि लिभरपुलले म्यानचेष्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लने मौका समेत गुमायो।

पहिलो हाफमा लिभरपुलले अग्रता लिने अवसर पाएपनि सलाहको प्रहार एभरटनका गोलकिपर जोर्डन पिकफोर्डले रोकेकाका थिए।

बराबरीपछि लिभरपुलले २९ खेलबाट ७० अंक जोडेको छ र शीर्ष स्थानको सिटीभन्दा अझै एक अंकले पछि छ। समान खेलबाट ७१ अंकसहित सिटी शीर्ष स्थानमा यथावत छ।

यस्तै छैटौँ स्थानको चेल्सीले फुलहमलाई २-१ ले पराजित गरेको छ। चेल्सीको जितमा गोन्जालो हिग्वेन र जर्जिन्होले गोल गरे। फुलहमका कलुम चेम्वर्सले एक गोल फर्काए।

२८ खेलबाट चेल्सीको ५६ अंक छ। २९ खेल खेलिसकेका युनाइटेड ५८ अंकका साथ चौथो र समान खेलबाट आर्सनल ५७ अंकका साथ पाँचौ स्थानमा छ।

२०७५ फाल्गुन २०, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment