बी डिभिजन लिग : आरसिटी च्याम्पियन

काठमाडौँ : रानी पोखरा कर्नर टिम आरसिटीले शहिद स्मारक बी डिभिजन लिगको उपाधि जितेको छ । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भएको लिग अन्तर्गत मंगलवार भएको दोस्रो चरणको अन्तिम खेलमा श्री भगवतीलाई १-० ले पराजित गर्दै आरसिटीले उपाधि जितेको हो ।

आरसिटीलाई जित दिलाउन खेलको २३औँ मिनेटमा लोकेन्द्र बहादुर कार्कीले गरेको गोल निर्णायक बनेको थियो ।

कूल १२ टोलीलाई दुई समूहमा विभाजन गरेर बी डिभिजन लिग खेलाइएको थियो । त्यसबाट दुई समूहको शीर्ष दुई स्थानमा रहेका चार टोली दोस्रो चरणमा पुगेका थिए ।

आरसिटीले दोस्रो चरणको तीन वटै खेल जित्दै ९ अंक जोडेको च्याम्पियन बनेको हो ।

च्याम्पियन आरसिटीले ट्रफीसँगै नगद ८ लाख हात पार्दा श्री भगवतीले ५ लाख प्राप्त गर्‍यो ।

यस्तै दोस्रो चरणमै सातदोबाटोलाई २-१ ले पराजित गर्दै तेस्रो बनेको टुसाल युथ क्लबले ३ लाख पायो भने सातदोबाटोले २ लाख हात पार्‍यो ।

यसैगरी व्यक्तिगत विधातर्फ आरसिटीका लोकेन्द्र उत्कृष्ट डिफेण्डर तथा आरसिटीकै बैजु कपाली उत्कृष्ट प्रशिक्षक बने। यस्तै सातदोबाटेका बिरेन्द्र लिम्बु उत्कृष्ट फरवार्ड, श्री भगवतीका दर्शन गुरुङ उत्कृष्ट मिडफिल्डर र टुसालका विनोद सोडारी उत्कृष्ट गोलकिपर घोषित भए । उत्कृष्ट सबैले २५-२५ हजार प्राप्त गरे ।

यस्तै फियर प्ले अवार्ड विजेता श्री कुमारीले पनि नगद २५ हजार पायो ।

सी डिभिजन लिग भोलीबाट

यस्तै शहिद स्मारक सी डिभिजन लिग भोलीबाट सुरु हुँदैछ। सी डिभिजन लिगमा ११ क्लबले प्रतिस्पर्धा गर्दैछन् । जसअनुसार समूह ए मा ६  र समूह बी मा ५ क्लब रहेका छन् ।

दुवै समूहका शीर्ष दुई टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । लिगको विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख पाउनेछन् ।

२०७५ फाल्गुन २१, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment