आरिफ र रोहितलाई एनसीसी बैँकको साथ, दुई वर्षका लागि मासिक २५ हजारको सम्झौता

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई खेलाडी आरिफ शेख र रोहित कुमार पौडेलले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैँकको साथ पाएको छ।

एनसीसी बैँकले दुई खेलाडीलाई दुई वर्षको लागि आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको हो। बुधवार राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले दुई उदयीमान क्रिकेटरसँग दुई वर्षको लागि सम्झौता गरेको छ।

बैँक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले दुई खेलाडीलाई बैँकको लोगो अंकित टिसर्ट प्रदान गरेर अनुबन्ध गरेका हुन्।

बैँकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले नेपाली क्रिकेटले पछिल्लो समय नेपाली क्रिकेटले प्रगती गरिरहेको बताउदै दुई उदयीमान खेलाडीलाई मासिक २५ हजारका दरले २ वर्षका लागि अनुबन्ध गरेको बताए।

मासिक २५ हजारका दरले दुई खेलाडीले दुई वर्षमा ६ लाख प्राप्त गर्नेछन्।

आरिफलाई यसअघि सिप्रदीले पनि ब्राण्ड एम्बासडर नियुक्त गरेको थियो भने रोहितको भने यो पहिलो अनुबन्ध हो। रोहितले एकदिनअघि मात्र सिप्यानले आयोजना गरेको एनसिसिएस सिप्यान क्रिकेट अवार्डमा उदयीमान खेलाडीको अवार्ड जितेका थिए।

बैँकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउने क्रिकेट खेलाडीसँथ जोडिन पाउँदा खुशी लागेको बताए।

यस्तै एम्बासडर नियुक्त भएपछि आरिफ र रोहितले एकदमै खुशी लागेको र यसबाट अझै राम्रो प्रदर्शन गर्न हौसला मिल्ने बताए।

२०७५ फाल्गुन २२, बुधबार मा प्रकाशित